कोरोना पीडितको लागि आर्थिक सहयोग व्यक्तिगत खातामा जम्मा नगरौं : एनआरएनए



२८ चैत २०७६, लन्डन

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस (कोभिड–१९) को महामारीको लागि संकलित रकमलाई व्यवस्थित गर्न राहत कोषसम्वन्धी कार्यविधि पारित गरेको छ । संघ महासचिव डा. हेमराज शर्माका अनुसार बिहीवार बसेको बैठकले १७ बुँदे कार्यविधि पारित गरेको हो । कार्यविधिले संघको नाममा व्यक्तिगत रुपमा आर्थिक संकलन गर्न रोक लगाएको छ ।

नयाँ कार्यविधिअनुसार गैरआवासीय नेपाली संघका सदस्यले संघको केन्द्रीय अनलाई प्रणालीमार्फत् वा संघका राष्ट्रिय समितिको खातामा अनिवार्य आर्थिक सहयोग गर्नुपर्ने प्रावधान रहेको शर्माले बताए ।

आर्थिक पारदर्शिताको लागि राष्ट्रिय समिति र आइसीसी गरी दुई तहमा मात्र आर्थिक संकलन गर्न पाउने व्यवस्था गरिएको कोषाध्यक्ष तथा राहत कोष संकलन समितिका संयोजक महेशकुमार श्रेष्ठले बताए ।

संकलित रकम कहाँ कसरी खर्च गर्ने विषयमा समेत कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिले संक्रमणबाट बच्ने सुरक्षाका सामग्री, दैनिक जीविकोपार्जन गर्न लाग्ने खर्च, मृत्युवरण भएकोमा अन्त्यष्टि, विदेशमा अलपत्र परेकाहरुलाई नेपाल फर्काउन आदि शीर्षकमा सहयोग गर्न सकिनेसमेत प्रष्ट पारेको छ ।

संकलित रकम गैरआवासीय नेपाली संघको मानव तथा समाज कल्याण विभागको मताहातमा रहने व्यवस्था कार्यविधिमा छ । संघका राष्ट्रिय समितिले कोरोना भाइरस संक्रमितको लागि उठाएको हरहिसाव अनिवार्य रुपमा संघको सचिवालयमा जानकारी दिनुपर्ने कार्यविधिमा उल्लेख छ । आर्थिक संकलनको लागि क्षेत्रीयस्तरमा समिति गठन गर्न सकिने प्रावधान सो कार्यविधिमा राखिएको छ । तर त्यस्ता समितिले सिधै संघको अनलाइन प्रणालीमार्फत् आर्थिक संकलन गर्न पाउने व्यवस्था छ ।

दाताहरुले निम्न दुई किमिसले यस राहतकोषमा रकम सहयोग गर्न सक्ने छन् ।

संघले सञ्चालन गरेको अनलाइन प्रणालीमार्फत् क्रेडिट वा डेबिट कार्डबाट www.nrna.org/donate

संघको नेपालमा रहको निम्न बैंक खातामा जम्मा गर्न सकिन्छ ।

Bank Name: Sanima Bank Limited
Branch Name: Alakapuri, Kathmandu
Account No.: 024010510000034
Beneficiary: NRNA EMERGENCY FUND

प्रतिक्रिया दिनुहोस्