सांसद राईको आग्रह, ‘सरकार र मिडिया दुवैले जनभावनामा खेलवाड नगर्नुस्’



२८ चैत्र २०७६, काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद हेमकुमार राई ‘सुरवीर’ले सरकार र पार्टी नेतृत्वलाई जिम्मेवार भएर निर्णय लिन आग्रह गरेका छन् ।

अपरिपक्व निर्णयले जनताको भावनामाथि पीडा थपिने औंल्याउँदै सांसद राईले सरकार र मिडिया दुवै जिम्मेवार हुनुपर्नेमा जोड दिएका हुन् । उनले यथार्थभन्दा बाहिर रहेर समाचार प्रकाशन/प्रशारण गरेको भन्दै सञ्चारमाध्यमप्रति पनि आक्रोश व्यक्त गरेका छन् ।

शुक्रबार (आज) बिहान सामाजिक सञ्जाल फेसबूकमा सांसद राईले लेखेका छन्, ‘यस्तो संवेदनशील घडीमा सञ्चारमाध्यममा यसरी किन समाचार आउँछ । सरकार र मिडिया दुवैले जनताको पीडा र भावनामाथि खेलवाड नगर्नुस् । जिम्मेवार निकायमा बस्ने महोदय र संकटको बेला धमिलो पानीमा माछा मार्न खोज्ने प्रवृत्ति बोकेका सञ्चारमाध्यमप्रति खेद प्रकट गर्दछु ।’

यस्तै सांसद राईले स्वास्थ्य उपकरण खरिद प्रक्रियामा भएको भनिएको अनियमितताबारे पनि सत्यतथ्य छानविन गरेर दोषी पाइए सम्बन्धीत व्यक्तिलाई कडा कारबाही गर्न माग गरेका छन् ।

यस्तो संकटको घडीमा सरकारले आफ्नो नागरिकलाई विकास खर्च कटाएर भए पनि विपन्न र मजदूरहरुलाई राहत, स्वास्थ्य सामाग्री, औषधी उपकरण गाउँगाउँमा उपलब्ध गराउनुपर्नेमा स्वास्थ्य सामाग्री खरिदमै अनियमितता हुनु निन्दनीय रहेको उनको भनाई छ ।

सांसद राईले लेखेका छन्, ‘यस्तो संकटको घडीमा सरकारले आफ्नो नागरिकलाई विकास खर्च कटाएर भएपनि राहत, औषधी, स्वास्थ्य उपकरण गाउँगाउँमा उपलब्ध गराउनुपर्ने बेलामा स्वास्थ्य सामाग्री खरिदमा देखिएको अनियमितता प्रयास जसरी सञ्चार मिडियामा आयो यो अत्यन्तै निन्दनीय छ । सत्य तथ्य छानविन गरी दोषीउपर कारबाहीको माग गर्दछु ।’

उनले यो विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट मानव जातिलाई बचाउन र बाँच्न सबै एक जुट हुनुको विकल्प नभएको भन्दै एकता, आपसी सहयोग र सद्भाव नै आजको आवश्यकता भएको बताएका छन् ।

|तस्वीरमा सांसद राई। परिवर्तन खबर|

प्रतिक्रिया दिनुहोस्