नेकपा दुधौली नगरकमिटीले गर्‍यो वडाध्यक्ष पहाडीको पर्दाफास : एकजुट भई विपद्मा जनतालाई सहयोग गर्न निर्देशन



२७ चैत २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुधौली नगरकमिटी सिन्धुलीले बिहिबार (आज) एक प्रेस विज्ञप्ती जारी गर्दै दुधौली १ को वडाध्यक्ष संलग्न मास्क काण्डको बास्तविकता उजागर गरेको छ ।

नगर कमिटीका अध्यक्ष लक्ष्मण कुमार कार्की र सचिव दीपक खड्काद्वारा जारी विज्ञप्तीमा विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले जनचेतना फैलाउन अभिभावकीय भूमिका निर्वाह गरिरहेको र दुधौली नगरभित्र समेत पार्टी संगठन कमिटीले लकडाउनलाई पूर्ण पालना गर्दै भाइरस विरुद्ध एकजुट भई लड्नको लागि सम्पूर्ण जनसमुदायलाई अपिल गरेको छ ।

त्यसैगरी विज्ञप्तीमा भनिएको छ, ‘नेकपा दुधौली नगरपालिकाको नेता कार्यकर्ताको नाम जोडेर खासगरी दुधौली नगरपालिकाका प्रमुख तथा पार्टी जिल्ला कमिटीका सदस्य घनश्याम राउतको नाम जोडेर नेपाली काँग्रेस दुधौली र नेपाली काँग्रेस जिल्ला कार्य समिति सिन्धुलीले कपोकल्पित विज्ञप्ती निकालेको हुँदा यथार्थमा दुधौली नगरपालिका वडा नं. १ का वडाध्यक्ष गोविन्द पहाडीले नगर कार्यपालिकाद्वारा गरिएको निर्णयलाई वेवास्ता गरी संकटका घडीमा समेत जनताको वेवास्ता गरेको, अन्य वडाहरुले मास्कको व्यवस्थापन गरिसक्दा पनि निजले कुनै चासो नलिई समयमै मास्क व्यवस्थापन नगरेपछि दुधौली नगरपालिकाका प्रमुखले समन्वय गरी वडा नं. १ र २ लाई २५०० का दरले दुई पोका मास्क पठाएकोमा वडाध्यक्ष पहाडी आफैंले छानेर लिएको पोकोमा २५०० मास्कमा १५०० थान मात्र आफूले प्राप्त गरेको र नेकपाले राजनीतिक पूर्वाग्रह राखी कम पठाएको भनी भ्रामक समाचार फैलाएकोमा घोर भर्त्सना गर्दछ । त्यसैगरी दुधौली नगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले मोबाईल, मोटरसाईकल समेत प्रयोग गरेको र सो बापत निजी मोटरसाईकल मर्मत, इन्धन लगायतको सबै सुविधा लिएर दोहोरो मारमा नगरपालिकालाई पारी नगरको वा राज्यको सुविधा नलिएको भन्ने विज्ञप्ती निकाली जनतालाई भ्रम छरेर पानी माथि आभानो बन्न खोजेको कुरा सबैमा सर्वविदितै छ । यस संकटको बेला जनतामा भ्रम नफैलाई सचेत र सजग ढंगले अगाडि बढ्न दुधौली नगरकमिटी सम्पूर्ण वडावासीहरुलाई अपिल गर्दछ ।’

नेपाली काँग्रेस जिल्ला कोषाध्यक्ष तथा वडा नं. १ का वडाध्यक्ष गोविन्द पहाडीले राज्यबाट प्राप्त सुविधा घुमाउरो ढंगले लिइरहेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । यसैगरी नगरकार्यपालिका मार्फत सबैमा वडाहरुले स्थानीय रुपमा मास्क उत्पादन गरी जनतालाई वितरण गर्ने कुरामा वडाध्यक्ष पहाडीले चरम बेवास्ता गरेको समेत विज्ञप्ती मार्फत प्रष्ट्याईएको छ ।

वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले वडामा उठेको विवादलाई सर्वपक्षीय छलफलद्वारा समाधान गर्नुपर्नेमा पार्टीभित्रको राजनीतिक पहुँच दुरुपयोग गरी सिङ्गो जिल्ला कार्यसमितिलाई विवादित बनाउने कार्यले उनको कार्यशैली र कार्यक्षमतामा प्रश्न उठेको छ । आफूलाई पार्टीको भावी जिल्ला नेतृत्व भन्दै हिड्ने वडाध्यक्ष पहाडीले सानो स्थानीय समस्यालाई समेत विवादित बनाउनुले उनको राजनीतिक भविष्य सकंटमा परेको एक सिन्धुली काँग्रेस जिल्ला सदस्य परिवर्तन खबरलाई बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुधौली नगरपालिका, सिन्धुलीद्वारा जारी विज्ञप्ती : 

यो पनि पढ्नुहोस् : 

काँग्रेसबाट निर्वाचित सिन्धुलीका वडाध्यक्ष गोविन्द पहाडीले जनतालाई बाड्न पठाएको मास्क समेत लुकाएको पुष्टि (विज्ञप्ति सहित) 


प्रतिक्रिया दिनुहोस्