लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत पाँच चिकित्सक बर्खास्त



२६ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा ड्यूटीमा नआएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सकलाई बर्खास्त गरिएको छ ।

अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा., ताराप्रसाद शर्मा, इएनटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृती कार्कीलाई सेवाबाट हटाइएको हो ।

“अस्पताल प्रशासनलाई जानकारी नदिई ड्यूटीमा हाजिर हुनुभएको थिएन।” अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले भने, ‘सामाजिक विकासमन्त्री सुदर्शन बराल ज्यूले तत्काल बर्खास्त गर्न निर्देशन दिनुभयो ।’

हटाइएका चिकित्सकहरु करारमा नियुक्त भएका थिए । सामाजिक विकासमन्त्री बरालले सिंगो मुलुक कोरोना भाइरस संक्रमणको महामारीको संकटमा परेका बेला अग्रमोर्चामा खटिएर विरामीलाई उपचार गर्नुपर्ने दायित्वबाट पन्छिनु गम्भीर गल्ती हुने भन्दै सेवामा नखटिने चिकित्सकहरुलाई कारबाही गर्न निर्देशन दिएको स्वीकार गरे ।

|तस्वीरमा प्रादेशिक अस्पताल। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्