व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राख्न अनुमति



२६ चैत्र २०७६, काठमाडौं

व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।

स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका मालिक अग्रवाल मंगलबार पक्राउ परेका थिए । बुधबार (आज) जिल्ला प्रशासन कार्यालय, काठमाडौंले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कालोबजारी गरेर थर्मल गन (थर्मामिटर) विक्री गर्न लागेको सूचना पाएपछि प्रहरीले विशेष अपरेशन चलाएर अग्रवाललाई पक्राउ गरेको थियो । लगत्तै महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु ल्याएपछि उनको घर र कार्यालयमा प्रहरीले छापा हानेको हो ।

महाशाखाको विशेष टोलीले नक्सालस्थित शंकर ग्रुपको भवन र बालुवाटारमा रहेको अग्रवालको निवासमा पनि छापा हानेको थियो । शनिबार अग्रवालसहितको समूहले चीनको ग्वान्झाओबाट ७.५ टन स्वास्थ्य सामग्री ल्याएको थियो ।

त्यसैको खोजीमा प्रहरीले घर र कार्यालयमा छापा हानेको हो । तर, उनले ती सामग्री लुकाएको स्थान प्रहरीले हालसम्म भेट्टाउन सकेको छैन ।

|तस्वीरमा अग्रवाल। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्