सल्यान जिल्लाको बागचौर नगरप्रमुख लोकमान बुढाथोकीद्वारा कोरोना कोषमा साढे ४ लाख सहयोग



२५ चैत २०७६, काठमाडौं

नेताहरुप्रतिको हाम्रो दृष्टिकोण नकारात्मक मात्र छ, नेताहरुले खान्छन, आफ्नो लागि मात्र गर्छन् । राजनीति सेवा जस्तो भएन । राजनीतिलाई व्यवसाय बनाए ।

यसको अपवाद हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचित बागचौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकी । नगरप्रमुख बुढाथोकीले गतवर्ष नगरप्रमुखको हैसियतले पाएको सेवा–सुविधा वापतको ४ लाख ५० हजार रकम नगरपालिकाको “कोरोना भाइरस रोकथाम, उद्धार तथा राहत कोष” मा जम्मा गरेको जानकारी परिवर्तन खबरलाई दिएका छन् ।

नगरपालिकाद्वारा राखिएको कोषले कोरोना भाइरसको रोकथाम, अलपत्र परेका नगरबासीको उद्धार तथा विपन्न बर्गलाई राहत दिने उद्देश्य रहेको प्रमुखले जनाएका छन् ।

नगरप्रमुख बुढाथोकीले आफ्नो तर्फबाट ठूलो रकम जम्मा गरेपनि उपप्रमुख लगायत सबै जनप्रतिनिधिहरुले एक महिनाको सेवा÷सुविधा जम्मा गरेको समेत जानकारी दिए । त्यसैगरी नगरभित्र सरकारी सेवामा रहेका स्वास्थ्यकर्मी र ड्राईभर बाहेक सबैलाई एक महिनाको तलब योगदान गर्न अनुरोध गरेको समेत बताए ।

टेलिफोन सम्वादमा प्रमुख बुढाथोकीले भने,“हामी राजनीतिलाई पेशाको गर्न आएका होईनौं, सेवा गर्न आएका हौँ । ७५३ वटै स्थानीय तह, ७ प्रदेशका जनप्रतिनिधिहरुले सहयोग गर्ने हो भने जनताले निकै राहत पाउँथे । म सबैलाई यो विपद्को घडीमा दिल खोलेर सहयोग गर्न अनुरोध गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्