राजमोको आग्रह-‘भारतमा अलपत्र नेपालीलाई देशभित्रै क्वारेन्टाइनमा राखौं’



२४ चैत्र२०७६, काठमाडौं

राष्ट्रिय जन मोर्चाले ‘लकडाउन्’का कारण नेपालमा प्रवेश नपाएर सीमावर्ती भारतीय क्षेत्रमा अलपत्र परेका नेपालीलाई देशभित्रैको क्वारेन्टाइनमा राख्न आग्रह गरेको छ ।

राजमो उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले सोमबार (आज) वक्तव्य जारी गर्दै भारतका विभिन्न सीमाहरूमा अलपत्र परेर बसेका करिब एक हजार नेपालीले धेरै नै कष्टप्रद र पीडादायक जीवन बिताउन परिरहेको उल्लेख गर्दै उनीहरूलाई उद्दार गरी नेपाल ल्याइ क्वारेन्टाइनमा राख्न आवश्य व्यवस्था गर्न माग गरेकी छिन् ।

“भारतमा बसेका लाखौँ नेपालीहरूको रोजगार समाप्त भएपछि बेखर्चीभई भोकभोकै बस्ने स्थिति उत्पन्न भएको छ । उनीहरूलाई विश्व स्वास्थ्य संठनको प्रोटोकलअनुसार आवश्यक व्यवस्था गर्नका लागि भारत सरकारसित उच्चस्तरको कूटनीतिक पहल गर्न हामीले सरकारसित माग गर्दछौं ।” वक्तव्यमा भनिएको छ ।

यस्तै, राजमोले अहिले सम्पूर्ण विश्वमा नै कोरोना भाइरसका कारणले उत्पन्न भएको संकटको अवस्थामा संसारका अन्य देशहरूका नेपालीहरूको समस्यालाई समाधान गर्न वा आवश्यक काम गर्नुपर्ने पनि माग गरेको छ ।

|तस्वीरमा प्रवक्ता दुर्गा पौडेल। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्