कोरोनाविरुद्धको लडाइँ : ९ मन्त्रीलाई थप जिम्मेवारी



२४ चैत्र २०७६, काठमाडौं

सरकारले कोभिड १९ (कोरोना भाइरस) विरुद्धको लडाइँका लागि संघीय मन्त्रीलाई प्रदेशसँग समन्वयका लागि जिम्मेवारी दिएको छ ।

सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीलाई प्रदेशसँग समन्वयको लागि जिम्मेवारी सुम्पेको हो । भौतिक पूर्वाधार तथा योजनामन्त्री वसन्त नेम्वाङलाई प्रदेश १, श्रम तथा रोजगारमन्त्री रामेश्वरराय यादवलाई प्रदेश २, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‌मा अर्याललाई गण्डकी प्रदेश, जल स्रोत तथा ऊर्जामन्त्री वर्षमान पुनलाई प्रदेश ५, वनमन्त्री शक्तिबहादुर बस्नेतलाई कर्णाली प्रदेश र खानेपानी मन्त्री बिना मगरलाई सुदूरपश्चिम प्रदेश सरकारसँग समन्वयको जिम्मा दिइएको सरकार प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

यस्तै संसदमा रहेका राजनीतिक दलसँगको समन्वयको जिम्मा कानूनमन्त्री शिवमाया तुम्बाहाम्फेलाई दिइएको छ । यसैगरी महिलामन्त्री पार्वत गुरुङलाई सामाजिक संघ संस्थाहरुलाई परिचालन तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई खेलाडीलाई स्वयंसेवकका रुपमा परिचालन गर्ने जिम्मा दिइएको छ ।

सरकारले यसअघि कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति बनाएको थियो ।

|तस्वीरमा मन्त्रिपरिषद् बैठक। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्