अमेरिकी वरिष्ठ वैज्ञानिक भन्छन्, ‘कोरोना भाइरस नियन्त्रण असम्भव हुँदै गयो’



२४ चैत्र २०७६, काठमाडौं

अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थनी फाउचीले संसारभरबाट पूर्ण रुपमा कोरोना भाइरस नियन्त्रण असम्भव हुँदै गएको बताएका छन् ।

नेसनल इन्टिच्यूट अफ हेल्थको सरुवा रोगका विशेषज्ञ डा. फाउचीले भनेका छन्, ‘यस वर्ष संसारभरबाट भाइरसलाई निर्मुल पार्न असम्भव छ । नियन्त्रणमा नआउँदै आउँदो फ्लू सिजनमा अमेरिकामा फेरि एक पटक कोरोना भाइरसले सक्रियता देखाउँछ।’

अमेरिकाले कोरोनाविरुद्ध भ्याक्सिन बनाउन र उपचारका अनेक तरिका अवलम्बन गरेको उनको भनाइ छ । आफूले यसको फेरि महामारी रुपलाई ध्यान दिएर तयारी थालेको पनि उनले बताएका छन् ।

‘कोरोनाले नियन्त्रणपछिको सक्रियता देखाउँदा अमेरिकासँग रोक्नका लागि उपायको खोजी हुनेछ ।’ उनले भनेका थिए । उनले यसअघि नै कोरोनाविरुद्धको भ्याक्सिन १२ देखि १८ महिनाभित्र प्रयोगमा आउने बताएका थिए ।

डा. फाउचीले अमेरिकामा अहिलेको महामारीबाट कम्तीमा १ लाख जनाको ज्यान जानसक्ने बताएका छन् । उनले अमेरिकामा आम नागरिकले जान्दाजान्दै पनि घर बाहिर निस्किएर आफूलाई खतरामा हालेको टिप्पणी गरेका थिए ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार अहिले कोरोनाविरुद्ध ४० भ्याक्सिन परीक्षण गरिएको छ । त्यसमध्ये केही भ्याक्सिन मानिसमा परीक्षणका लागि तयारी अवस्थामा छन् ।

अमेरिकामा अहिलेसम्म १० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । एजेन्सीका सहयोगमा–

|तस्वीरमा डा. फाउची। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्