हामी प्रेस संगठनका हौं, प्रेस चौतारी र प्रेस सेन्टर रहेनौं अब : महेश्वर दाहाल



२४ चैत २०७६, काठमाडौं

हाम्रो संगठनका सहसंयोजक गणेश बस्नेतले मैले भनेको भनेर मैले बोल्दै नबोलेको कुरा शुक्रवार राति ९ बजेपछि एउटा स्ट्याटस लेख्नुभएको छ । शनिवार विहान उठ्दा धेरै साथीको फोन र मेसेज आएको रहेछ । मैले पढें । आश्चर्यचकित भएँ । सहसंयोजक जस्तो गरिमामय पदमा बसेको जिम्मेवार नेतृत्वले यति अनैतिक झूटको खेती गर्नुहोला भन्ने मैले कल्पना समेत गरेको थिइन ।

म ओछ्यानमा ढल्किएर कोरोना भाइरसको अन्त्यपछि विश्व राजनीतिमा कस्तो प्रभाव पार्ला भनेर एक जना भारतीय लेखकको लेख मोबाइलमा पढ्दै थिएँ । पौने ९ वजेतिर गणेश बस्नेतले मलाई फोन गर्नुभयो । मैले फोन उठाएँ । किन सानो आवाज आयो कमरेड विरामी पर्नुभयो कि के हो भनेर उहाँले सोंध्नुभयो । मैले होइन, म त पल्टेको छु भनें । यसपछि उहाँले एकाएक प्रेस संगठनमा पूर्व प्रेस चौतारी र प्रेस सेन्टर भए भन्नुभयो । मलाई त्यसपछि झोक चल्यो । गणेश बस्नेतलाई कुनै कुरा गर्नुछ भने पहिला आफ्नो नकारात्मक निष्कर्ष निकालेर झगडा गर्ने मुडमा प्रायः कुरा गर्ने तरिकाले हिजो चाहिं मलाई झोक चल्यो । ‘तपाई जहिले पनि बखेडा झिक्नुहुन्छ, मसँग सधैं खेल्नुहुन्छ, यस्ता नकारात्मक कुरा गर्ने ? खेलिरहनेसँग म अब कुरा गर्दिन’ भनें । त्यसमा मैले पार्टीका अध्यक्ष प्रचण्ड, गृहमन्त्री वादल, नेपाल पत्रकार महासंघ, महासंघका महासचिव रमेश बिस्टको कतै नाम लिएको छैन । महासंघको वक्तव्यको बारेमा उहाँसँग कुरा भएकै छैन ।

शनिवार विहान पौने नौ बजे फोन गरें । उहाँको फोन अफ थियो । मैले उहाँको फोनमा एसएमएस गरें, ‘यस्तो झूटको पराकाष्ठा ।’ त्यसपछि पनि पटकपटक फोन गरें । विहान धेरै बेरसम्म फोन अफ थियो । पछि फोन गरेर भनें, ‘त्यसको तपाईंले पुष्टि गर्नुपर्छ । हैन भने यस्तो झूटको खेती नगर्नुस् ।’

पछि उहाँले फेसबुकमा रहेको स्ट्याटस त हटाउनु भएको छ । तर, अझै पनि साथीहरुमा भ्रम कायम नै छ । संगठनलाई एकताबद्ध र सुदृढ गरेर लैजाने हाम्रो प्रयासलाई यतिवेला क्षति पुर्‍याएको छ ।

हामी प्रेस संगठनका हौं । हामी प्रेस चौतारी र प्रेस सेन्टर होइनौं अब । विगतका भावनात्मक कुरा उठाएर हामी लड्नु हुँदैन । गणेश बस्नेतले जुन नउठाउनु पर्ने कुरा उठाउनु भयो भनेर म झोक्किएँ, उहाँले त झन् उल्टो हुँदै नभएका, बोल्दै नबोलेका पार्टीका श्रद्धेय अध्यक्ष प्रचण्ड समेतलाई मुछेर संगठनमा मात्र होइन पार्टीका शीर्ष नेतृत्वलाई पनि आशंका गराउने, विवाद सिर्जना गराउने अनैतिक काम गर्नुभयो । हामी आफैं आआफ्नो तहका नेता पनि हौं, हामी समाधान बन्ने कोशिश गर्नुपर्छ, समस्या बन्ने र बनाउने होइन । गणेश बस्नेतलाई यो कुरा पटकपटक भनिरहेको छु, तर आज उहाँले ममाथि नै कडा प्रहार गर्नुभयो ।

म यो कुरा लेख्ने पक्षमा पनि थिइन । उहाँले झुट्टो भनेर आफ्नै फेसबुकमा लेख्ने इमान्दारिता देखाएको भए मलाई लेख्ने मन थिएन । देशभरिबाट साथीहरुको चिन्ताका साथ फोन आइरहेको छ । विहान र दिनभरि नै एउटै कुराको मैले जवाफ दिइरहनु परेको छ । आधा घण्टा फोन अफ गरेर मैले यो लेखें । देशभरिका साथीहरुको संगठनलाई एकताबद्ध बनाइराख्ने र हामीलाई जिम्मेवार व्यवहार गर्न गरेको आग्रहप्रति म धन्यवाद दिन चाहन्छु । मेरो पुनः प्रतिबद्धता छ, मेरा कारणले प्रेस संगठनलाई विभाजन र वदनाम हुन दिन्न । जति समय यो संगठनमा रहन्छु म संगठनका नाममा विवादित क्रियाकलाप गर्दिन ।

मसँग कुरै नभएको तर फेसबुकमा मैले महासंघका महासचिव रमेश बिस्टलाई लगाएर वक्तव्य दिन लगाएको जिम्माको कुरा गणेश बस्नेतले गर्नुभएको रहेछ । मैले गणेशजीसँग यो बारेमा कुरै गरेको छैन । जहाँसम्म महासंघका महासचिवसँगको कुरा हो, उहाँसँग पनि गरेको छैन ।

बरु यसबारेमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र महासंघका सभापति गोविन्द आचार्यसँग कुरा भएको थियो । शुक्रवार विहान सूर्य थापासँग पहिला कुरा भयो । कसैको उजुरीविना तथ्यविना पत्रकारहरुको साझा संगठनका महासचिवले आफ्नो नामै किटेर वक्तव्य दिएको भन्दै सूर्य थापाले प्रतिक्रिया दिनुभएको थियो । महासंघका महासचिवबाट वक्तव्य आएको हो भने पनि यसको नैतिक जिम्मेवारी सभापति गोविन्द आचार्यकै हुन्छ, म गोविन्दजीसँग कुरा गर्छु भनें । त्यसको लगत्तै सभापति गोविन्द आचार्यसँग कुरा गरें । काठमाडौं प्रेसको बारेमा कुरा आएपछि वक्तव्य दिने हाम्रो कुरा भएको हो । वक्तव्य दिंदा सूर्य थापाको नाम आएको बारेमा म पनि छलफल गर्दैछु, कमजोरी भएको हो भने आइतवार महासंघका उपलब्ध केन्द्रीय सदस्यहरुसँग बसेर हामी एउटा निष्कर्ष निकाल्छौं भन्नुभयो । वाहिर जे आए पनि मुख्य नेतृत्वको हैसियतले नैतिक जिम्मेवारी लिदैं एउटा निष्कर्ष तपाईंले दिनुपर्छ र महासंघको साझा चरित्र बचाउन कहीं कतैबाट भएका नकारात्मक कामलाई तपाईंले चनाखो हुँदै सतर्कतापूर्वक काम गर्नुपर्छ मैले भनें ।

प्रेस संगठनका प्रदेश तीनका इञ्चार्ज तथा संयोजक विश्वमणि सुवेदी र म हाम्रा संगठनका साथी भुवन कार्कीले खोलेको फर्म हेर्न हिजो दिउँसो गएका थियौं । त्यतिवेला विश्वमणि सुवेदीसँग महासंघको वक्तव्य, महासंघका सभापतिसँग गरेका कुराकानीका बारेमा मैले बताएको थिएँ ।

हाम्रो त्यहाँ छलफलमा भएको कुरा थियो, महासंघको साझा चरित्र बचाउने दायित्व महासंघका पदाधिकारी, केन्द्रीय सदस्यको मात्र नभएर हामी सबैको हो । कहीं कतैबाट मानवीय, नियतका कमजोरी छन् भने पनि महासंघलाई साझा चरित्रको मानेर नै गतिविधि गर्नुपर्छ । अहिले महासंघमा को बाहुल्य छ भनेर हामीले स्वतन्त्र गतिविधि गर्नु हुँदैन । अहिले हामीले गरेका स्वतन्त्र गतिविधिले भोलि नजिर स्थापित गर्छ । चित्त नबुझे पनि तथ्य, सत्यमा टेकेर निष्कर्ष निकाल्नका लागि हामीले सहयोग गर्नुपर्छ । महासंघ कुनै अमुक पार्टीको भातृ संगठन होइन र हुनु हुँदैन । आफ्ना् अनुकूलको काम भएन वा आफ्नो अनुकूलको मात्र काम गर्ने, गराउने तरिका कदापी सही होइन ।

काठमाडौं प्रेसको सामग्री हटाउने जुन काम भयो त्यो सरासर गलत छ । यसको बारेमा प्रेससँग सम्बद्ध संघ/संस्थाले गम्भीरतापूर्वक लागेर त्यस्तो हर्कत गर्नेहरुमाथि कार्वाही गर्नैपर्छ । बूढी मरी भन्दा पनि काल पल्क्यो भन्ने चिन्ता धेरै छ । काठमाडौं प्रेसले लेखेको विषय झूट होला तर झुट्टा समाचार हुन भने त्यसको छानविन र कार्वाही गर्ने निकाय छन्, तर चित्त नबुझ्ने वित्तिकै सामग्री नै हटाउने काम जहाँबाट भयो त्यो एकदमै गलत छ ।

विश्वभरि फैलिएको कोरोना भाइरसको महामारीका कारण देश लकडाउनको अवस्थामा छ । यो समवेदनशील घडीमा सरकारले गरेको हर आव्हानलाई जनताबाट समर्थन छ । जनताको साथ लिएर नै सरकारले यो लडाईं जित्दैछ । यो समवेदनशील अवस्थामा जनताको जीवनसँग जोडिएका औषधिसहित स्वास्थ्य सामग्रीको खरीद प्रकरणमा त्रुटी भएको तथ्य वाहिर आएको छ । यो अप्ठ्यारो अवस्थामा पनि आर्थिक लाभ लिन खोज्नेहरु देखिएका छन् । यसलाई यो सरकारले निर्ममतापूर्वक कार्वाही गर्नुपर्छ । सरकारको समर्थनको नाममा गलत क्रियाकलापको समर्थन गर्न सकिदैंन ।

केपी ओलीको नेतृत्वको यो सरकार सुशासन, स्वाधीनतालाई प्राथमिकता दिएर बनेको हो । वहुसंख्यक जनताको विश्वास नेपाल कम्युनिस्ट नेतृत्वको यो सरकारसँग छ । यदि यो सरकार असफल भयो, जनतामा वदनाम भयो भने अहिलेको प्रणालीमा नै चुनौती हुनसक्छ । त्यसैले सरकार, पार्टीको समर्थन गर्ने भनेर हरेक गलत क्रियाकलापलाई समर्थन गर्न सकिदैंन । रचनात्मक आलोचना गर्न सक्नुपर्छ । यसो भनेर तथ्य वाहिर गएर मनगढन्ते आलोचना चाहिं गर्नु भएन ।

सही र गलत के हो अजेण्डाका आधारमा हामीले जानुपर्छ । साविक प्रेस चौतारी, साविक प्रेस सेन्टर या एमाले र माओवादी केन्द्रको भावनात्मक कुरा गरेर सही र गलतलाई ओझेलमा पारेर बहस गर्ने कुचेस्टा कसैले गर्नु हुँदैन । वहुसंख्यक जनताको मनोविज्ञान, अपेक्षा विपरीत जाँदा हुने नकारात्मक असरबाट हामी सबै प्रभावित हुन्छौ । किनभने हामी एउटै डुङ्गामा छौं । डुङ्गामा बसेर प्वाल पार्ने हर्कत कमसेकम हामी नेतृत्वमा रहेकाले त गर्नै हुन्न ।
मेरो मेरो जोड, देशभरिका साथीहरुको संगठनको एकता र विकृतिप्रतिको चासो, चिन्ता र सल्लाहका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

प्रतिक्रिया दिनुहोस्