विश्वभर कोरोनाको महामारी : कुन देशमा कति मृत्यु, कति संक्रमित ? (अपडेट)



२४ चैत्र २०७६, काठमाडौँ

विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ४ हजार ७२६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६९ हजार ४१६ पुगेको छ ।

एकै दिन ७१ हजार ७१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा १२ लाख ७२ हजार ५५४ पुगेको छ ।
संक्रमितमध्ये २ लाख ६१ हजार ४८५ जना उपचारपछि निको भएका छन् ।

हालसम्म सबैभन्दा बढी अमेरिकामा ३ लाख ३६ हजार बढी संक्रमित देखिएका छन् भने अमेरिकामा ९ हजार ६ सय बढीको ज्यान गएको छ ।

त्यस्तै इटालीमा सबैभन्दा बढी १५ हजार ८ सय ८७ जनाको ज्यान गएको छ भने १ लाख २८ हजार बढी संक्रमित भएका छन् ।

त्यसैगरी स्पेनमा १ लाख ३१ हजार बढी संक्रमित रहेका छन् । जहाँ १२ हजार ६४१ बढीको ज्यान गएको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ५ सय १८ ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ८ हजार ७८ पुगेको छ । जसमा एकै दिन २ हजार ८८६ जना संक्रमित भएसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९२ हजार ८३९ जना पुगको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ६२१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४ हजार ९३४ पुगेको छ त्यस्तै  एकैदिन ५ हजार ९०३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४७ हजार ८०६ पुगेको छ । त्यसैगरी संक्रमितमध्ये १३५ जना उपचारपछि निको भएका छन् । ७०४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ४२ हजार ७३७ जना उपचाररत छन् ।

जर्मनीमा पछिल्लो २४ घण्टामा १४० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ५८४ पुगेको छ । जहाँ एकैदिन ४ हजार ३१ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख १२३ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ११७ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७०० जना नयाँ संक्रमित भेटिएका छन् । यो सँगै भारतमा संक्रमित हुनेको संख्या ४ हजार २८८ पुगेको छ ।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४७ पुगेको छ । पाकिस्तानमा एकैदिन ३३९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ हजार १५७ पुगेको छ ।

अस्ट्रेलियामा वितेको २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । २०० मा नयाँ संक्रमण देखिएको छ । यो सँगै अस्ट्रेलियामा हालसम्म मृत्यु हुनेको संख्या ३७ जनाको मृत्यु भएको छ । ५ हजार ७५० जना संक्रमित छन् । संक्रमितमध्ये २ हजार ३१५ जना उपचारपछि निको भएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर हाल यूरोपियन मुलुक हुँदै अमेरिकामा तीव्र देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्