राहत वितरणमा अनियमितता भएको भन्दै झडप, एक प्रहरीसहित दर्जन बढी घाइते



२३ चैत्र २०७६, काठमाडौं

राहत वितरणमा अनियमितता गरेको भन्दै सुनसरीको दुहबीमा दुई समूहबीच झडप भएको छ ।

दुहबी ९ छातावलीमा दुई पक्षबीच भएको झडपमा एक प्रहरीसहित झन्डै एक दर्जन युवा घाइते भएको दुहबी प्रहरीले जानकारी दिएको छ ।

झडपमा प्रहरी जवान अनिल यादव घाइते छन् । इलाका प्रहरी कार्यलय दुहबीका इन्पेक्टर प्रबिण कार्कीकाअनुसार घाइतेको अवस्था सामान्य छ भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

दुई पक्षबीच यसअघि पनि पटकपटक झगडा हुने गरेको कार्कीले बताए । राहत वितरणमा वडाध्यक्षलगायतले अनियमितता गरेको भन्दै एक स्थानीय युवाले फेसबूकमा लेखेका थिए ।

सोही विषयमा छलफल गर्न भेला भएको बेलामा दुई पक्षबीच झडप भएको हो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्