काठमाडौं महानगरपालिका वडा नं. ३१ ले राहत बितरण गर्दै



२३ चैत २०७६, काठमाडौं

काठमाडौं महानगरपालिका वडा नं. ३१ ले वडाभित्र वसोवास गर्ने असहाय, अति विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने (संगठित संस्थामा काम गर्ने बाहेक) श्रमिक समेतलाई आइतबार राहत बितरण गर्ने भएको छ ।

निवेदन फाराम भरेका तथा तोकिएको मापदण्ड पुरा गरेका फारामलाई सर्वदलीय संयन्त्रले छलफल गरि उपयुक्त ठहर्‍याएका २१६७ घर परिवारलाई राहत बितरण गर्न लागिएको संयन्त्रका संयोजक समेत रहेका बाग्मती प्रदेश सभाका सांसद गणेश दुलालले टेलिफोनमा बताए ।

राहत वितरणका लागि सो वडाका आठ स्थानबाट बिहान ९ बजे पश्चात बेलुकी ४ बजे सम्म बितरण गरिने योजना रहेको उनको भनाइ थियो ।

यसरी तयार गरिएका केन्द्रहरुमा जागृतिनगरबाट ११७ परिवार, नागेन्द्र कान्छा चोकबाट १०० परिवार, भिमसेनगोला वडा कार्यालयबाट २०० परिवार, देउराली क्लबबाट २०० परिवार, चौतारी क्लवबाट १५० परिवार, शान्तिनगर इमाइल एकेडेमी स्कुलबाट २०० परिवार, आलोकनगर शंखमूलबाट २०० परिवार र सुकुम्बासी बस्तीमा  १००० परिवार गरि जम्मा २१६७ पोका राहत बितरण गरिने उनले बताए । महानगरले बनाएको कार्यविधी बमोजिम तिब्र गतिका साथ सम्पूर्ण लागत निकाली राहत बितरणका लागि तयारी अवस्थामा पुगिएको पनि उनले बताए ।

परिवार सदस्य संख्याको आधारमा राहत वितरण गर्ने निर्णय भए बमोजिम एक व्यक्ति परिवार, दुईदेखि चार जनासम्मको परिवार वा सो भन्दा बढि रहेको परिवार समेत गरि ३ समूहमा विभाजन गरेर राहत वितरणका लागि अगाडी बढिएको वडा अध्यक्ष नारायण भण्डारीले बताए । राहत सामाग्रीमा चामल, दाल, नुन, तेल, तरकारी (आलुप्याज) र चिउरा परिवार सदस्य संख्याका आधारमा तोकिएको पद्धती अनुसार चामल (४ केजी/१२ केजी/१६ केजी, दाल–१ केजी/२ केजी/३ केजी, नुन–१ पोका, तेल–आधा लिटर/आधा लिटर/१ लिटर, आलुप्याज–१ केजी/३ केजी/४ केजी र चिउरा–१ केजी/२ केजी/३ केजी बितरण गरिने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्