
२२ चैत्र २०७६, काठमाडौं
मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।
कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ । चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे भने सरकारले कुनै निर्णय गरेको छैन ।
बैठकले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न चालेको कदमको समीक्षा गरेको र त्यसमा मन्त्रिपरिषदले सन्तुष्टि ब्यक्त गरेको छ । बाहिरबाट आउनेमा कोरोना संक्रमण बढेको पाएपछि लकडाउनलाई पूर्ण पालना गर्न सबै निकायलाई निर्देशन दिने सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए ।





