कोभिड-१९ : नेकपा झापा कमिटिद्वारा सहयोग



२१ चैत २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले जिल्ला समन्वय समिति (जिसस)ले स्थापना गरेको ‘कोरोना नियन्त्रण तथा रोकथाम राहत कोष’मा रु. एक लाख सहयोग गरेको छ । सो पार्टीका जिल्ला अध्यक्ष चिन्तन पाठक र सचिव मणिकुमार साङपाङले आज कोषका संयोजक तथा जिसस प्रमुख सोमनाथ पोर्तेललाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

रु. ५० लाखको कोषमा आठ वटा नगरपालिकाबाट रु. तीन लाखका दरले र छ वटा गाउँपालिकाबाट रु. दुई लाखका दरले रकम जम्मा गरिएको छ । कोषमा राजनीतिक दल र विभिन्न संघसंस्थाबाट सहयोग जम्मा हुने क्रम जारी रहेको कोषका संयोजक पोर्तेलले जानकारी दिनुभयो । नेकपा झापाले सरकारले कोभिड- १९ को सम्भावित जोखिम हुन नदिन लकडाउन घोषणा गरेपछि दैनिक ज्यालादारी गरेर जीवन गुजारा चलाउने वर्गले खाद्यान्न सङकट व्यर्होनु पर्ने स्थिति आउन नदिन र कोरोनो जोखिममा रहेको जनाउँदै कोषमा सो रकम जम्मा गरेको जिल्ला अध्यक्ष चिन्तन पाठकले बताउनुभयो ।

नेकपाले बैठकपछि विज्ञप्ति जारी गरेर कोरोनाको नियन्त्रण र रोकथामका लागि प्रभावकारी कदम चाल्नु अहिलेको आवश्यकता भएको भन्दै नेकपाको पार्टी पङक्तिमा मानव सेवामा समर्पित हुनु पर्ने बेला आएको जनाएको छ । विज्ञप्तिमा जिल्ला भारतसँगको खुला सीमा र घनाबस्तीका कारण कोरोनाको सम्भावित जोखिममा रहेको भन्दै नेकपाले पार्टीका कार्यकर्तालाई स्वयम्सेविका रुपमा परिचालित हुन पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्