कोरोना महामारी पिडितका लागि एनआरएनएद्वारा आर्थिक संकलनमा तिब्रता



२० चैत २०७६, लण्डन

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना महामारीबाट पिडितको लागि आर्थिक संकलनलाई तिब्रता दिएको छ ।

संघका कोषाध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा गठित आर्थिक समितिले कोरोना पिडितको लागि सहयोग गर्न ईच्छुक व्यक्तिहरुले आफ्नो व्यक्तिगत क्रेडिट वा डेभिट कार्ड प्रयोग गरेर अनलाइन मार्फत सहयोग गर्न सक्ने व्यवस्था मिलाएको छ ।

गैरआवासीय नेपाली संघको स्मार्ट एनआरएनए अन्तर्गत पहिलो पटक अनलाईन मार्फत क्रेडिट वा डेभिट कार्ड प्रयोग गरी सहयोग गर्न सकिने व्यवस्था मिलाईएको संघका कोषाध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

कोरोना भाइरस “(कोभिड–१९) राहत कोष” को लागि विश्वभर छरिएका गैरआवासीय नेपालीहरुले संघको बैंक खातामा सिधैं सहयोग गर्न सक्ने भएका छन् ।

नयाँ अनलाइन पेमेन्ट प्रणालीबाट अब थोरैथोरै रकम पनि सहयोग गर्न सकिने उद्देश्यले वेभ एप्लिकेशन सञ्चालनमा ल्याइएको हो ।

संघले केही दिनमा मोबाईल एप्सबाट पनि सहयोग गर्न सक्ने व्यवस्था गर्न लागेको जनाएको छ ।

महाभूकम्प, बाढी पहिरो लगायतका आपतकालिन अवस्थामा झैं कोरोना महामारीको यस संकटपूर्ण परिस्थितिमा पनि विदेश स्थित नेपाली समूदायको सहयोगका अपेक्षा संघले गरेको छ ।

कोरोना भाइरसको महामारीबाट पिडितको लागि संघले विश्वभरका शाखाहरुलाई परिचालन गर्दै २ करोड भन्दा बढी आर्थिक संकलन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्