विश्व महामारी विरुद्धका स्वप्न द्रष्टा नेता सी चिनफिङ



१९ चैत २०७६, काठमाडौं/आनन्द प्रसाद पोखरेल

कोभिड १९ को महामारीको संक्रमण विश्वव्यापी फैलिरहेको छ । यसले कुनै राष्ट्र राष्ट्रियता, जात र सिमानाको सम्मान गरेको छैन । मानव जीवन र स्वास्थ्यको लागि भयंकर खतराको रुपमा देखा परेको छ । हालसम्म यसको कुनै औषधी तथा खोप तयार हुन सकेको छ न त परिभाषित उपचार बिधि नै छ ।

चीनको उहानबाट फैलिएको कोभिड १९ को नियन्त्रण र उपचारको लागि चिनियाँ राष्ट्रपति एवम् चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङको कुशल नेृतृत्वमा छोटो समयमा नै सफलता हाँसिल गर्‍यो । चीनले कोरोना भाइसरको संक्रमण भएको पत्ता लागउन साथ यसलाई विश्वाव्यापी फैलन नदिनको लागि गरेका प्रयासलाई विश्वले मुक्त कण्ठले प्रशंसा गरेका छन् । नयाँ कोरोना भाइसरको पहिचान गरी तत्कालै यसलाई देशव्यापी र विश्वव्यापी हुन नदिन चीनले चालेको लकडाउन बिधि नै अहिल कोभिड १९ रोकथामको एक मात्र सफल विकल्प भएको छ ।

विश्व भरिका कोभिड १९ बाट पीडित राष्ट्रहरु र त्यहाँका जनताले चिनियाँ राष्ट्रपति सी चिनफिङको सरकारले चलाएको संक्रमण नियन्त्रण लकडाउन बिधि, चिनियाँ स्वास्थ्य सेवा, स्वास्थ्य सामग्री, उपकरणहरु र वैज्ञनिकहरु माथि आशा र भरोषाको नजरले हेरिरहेका छन् । कोभिड १९ को नियन्त्रण र यसबाट बँच्नको लागि विश्व मानवजातिको भरोषाको केन्द्र विन्दु सी चिनफिङ नेतृत्वको चिनियाँ सरकार बनेको छ ।

गत २६ मार्चका दिन साउदी अरेबियाका राजाको संयोजनमा भएको जी २० का नेताहरुको शिखर बैठकमा चिनियाँ महामहिम राष्ट्रपति सी चिनफिङले गर्नु भएको सारगर्वित सम्बोधनले सी चिनफिङ चिनियाँ नेताको रुपमा मात्र सिमित नरही विश्व राज नेताको रुपमा स्थापित हुनुभएको छ । विश्व मानव जातिलाई कोभिड १९ को महामारीबाट बचाउन र मानव जीवनको रक्षा गर्न वहाँले प्रस्तुत गर्नुभएको प्रतिवद्धता र विचारले जी २० राष्ट्रहरुको मात्र होइन विश्वका सबै राष्ट्रका मानवजातिको रक्षा हुने विश्वासको अंकुरण भएको छ । महामहिम राष्ट्रपतिले विश्व मानव जगतलाई कोभिड १९ बाट बचाउन अन्तर्राष्ट्रिय सूचना सञ्जालको निर्माण, महामरी मुक्त पृथ्वी बनाउन सामूहिक प्रयास, प्रतिवद्धता, सहयोग र जवाफदेहिता सहित विश्व एकजुट भएर अगाडी बढेमा कोभिड १९ को यस महामारीबाट सबै राष्ट्र मुक्त हुने विश्वास व्यक्त गर्नुभयो ।

आफूले यस महामारीबाट विश्वलाई मुक्त बनाउन चिनियाँ सरकार र जनताको तर्फबाट आर्थिक, भौतिक, प्रविधि, मानवीय एवम् सबै खाले सहयोगमा कुनै कसर बाँकी नराख्ने उद्घोष गर्नुभयो । कोभिड १९ लगायत अन्य कारणले विश्व अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावलाई सम्बोधन गर्न र आर्थिक विकासमा सन्तुलन राख्न तथा आर्थिक मन्दीबाट राष्ट्र र जनतालाई बचाउन विश्वसामु जुन प्रस्ताव राख्नु भएको छ यसले महामहिम राष्ट्रपति सी चिनफिङ एक कुशल अन्तर्राष्ट्रिय राजनेता, आर्थिक विकासका अवधारणाकार र मानव जीवनका रक्षकको रुपमा स्थापित सफल हुनुभएको छ । विश्वमा देखापरेका महामारीबाट उत्पन्न स्वास्थ्य संकटको यस घडीमा विश्वलाई एकतावद्ध गर्दै संकटबाट मुक्तिको लागि नेतृत्वदायी भूमिका खेल्नु हुने महामहिम राष्ट्रिपति सी चिनफिङ वहाँका सरकार र जनतलाई हार्दिक आभार तथा बधाई ज्ञापन गर्दछु ।

प्रतिक्रिया दिनुहोस्