लकडाउनको समयमा काठमाडौंका शान्त सडकहरु (फोटो फिचर)



१९ चैत २०७६, काठमाडौं

कोभिड-१९ को सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेको आठौं दिन काठमाडौं उपत्यकामा सडकहरु शान्त देखिएका छन् ।

कोटेश्वरबाट सातदोबाटो जाने सडक

अत्यावश्यक कामबाहेक नागरिकलाई घरबाट बाहिर निस्कन रोक लगाएपछि ‘लकडाउन’को आठौं दिन काठमाडौं उपत्यका निकै सुनसान देखिएको हो । एम्बुलेन्स, सुरक्षाकर्मी र सञ्चारमाध्यमलगायत अतिआवश्यक सेवाका सवारीमात्र सडकमा गुडेको देखिन्छ ।

एयरपोर्ट छेउको शान्त सडक

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सरकारले लकडाउन घोषणा गर्दा शुरुका दिनहरुमा समस्या परेको थियो भने हाल नागरिकले पुर्ण रुपमा पालना गरेका छन् ।

सुनसान तीनकुनेको सडक

प्रवक्ता बोगटीले भने, “पहिलो/दोश्रो दिन धेरै नै उल्लङ्घन भयो, कतिले लकडाउनको अर्थ नबुझेर पनि हो कि, तेस्रो दिनबाट निकै कम उल्लङ्घन भयो तर आज पूर्णरुपमा पालना भएको छ ।” प्रहरीले ‘कृपया घरमै बस्नुस्’ भनेर उपत्यकाभरि विभिन्न स्थानमा प्रहरीको भ्यानमा माइक राखेर सरकारको निर्देशनलाई पालना गर्न आग्रह गरिएको छ । “सरकारका लागि वा प्रहरीका लागि घरमा बस्नु भनेको होइन, आफ्नो ज्यान जोगाउनका लागि भनेर बुझाइरहेका छौँ ।”

कोटेश्वरबाट भक्तपुर जाने सडक

विश्वव्यापी रुपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी लकडाउनको घोषणा गर्यो । सरकारले बन्द गर्ने भनेपछि कफ्र्यु लगाउने शब्द सुनेका नागरिकले लकडाउनको अर्थ नबुझेर पनि केही मानिस घर बाहिर निस्किए । तत्काल प्रहरीले लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गर्न लागेपछि कति सचेत भएर घरमै समय विताउन थाले ।

सुनसान चावहिल चोक

 गौशाला चोकगौशाला चोकमा सुरक्षाकर्मी सवारी चेकजाच गर्दै

देशैभर पहिलो पटक कार्यान्वयनमा आएको लकडाउनबारे नागरिक अनविज्ञ हुँदा पहिलो/दोश्रो दिन मङ्गलबार प्रहरी प्रशासनलाई बुझाउन निकै मुस्किल परेको थियो भने हाल त्यस किसिमका समस्या समाधान भईसकेका छन् । नागरिक अनावश्यक हिँडडुल तथा जमघट हुन थालेपछि पक्राउ गर्नुपर्ने प्रहरीलाई बाध्यता नै भयो । लकडाउनमा अत्यावश्यकीय पसलबाहेक अरु सबै बन्द छन् । सरकारले दूध, पानी, खाद्यान्न, तरकारीलगायतका पसल खुल्ला राख्न आग्रह गरे पनि त्यस्ता अधिकांश पसल बन्द छन् । सरकारले अत्यावश्यकीय खाद्यान्न, तरकारी, फलफूल पसल खुला गर्न व्यवसायीलाई आग्रह गर्दा पनि त्यस्ता पसल पनि बन्द देखिएका छन् ।

दरबार मार्गको व्यस्त सडक हाल निकै सुनसान छ ।

 

बानेश्वरमा देखिएको खाली सडक

चावहिल चोकको खाली सडक

प्रतिक्रिया दिनुहोस्