खिजीदेम्बाका वडाध्यक्षको व्यक्तिगत खर्चमा वडावासीलाई साबुन वितरण



१८ चैत २०७६, काठमाडौं

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ४ खिजीकातीका वडाध्यक्ष कमलप्रसाद न्यौपानले व्यक्तिगत खर्चमा सबै वडाबासीलाई हातधुने साबुन वितरण गरेका छन् ।

कोभिड–१९ को जोखिम बढ्न नदिन गाउँमा सचेतना र सरसफाईको सन्देश दिन वडाध्यक्ष न्यौपानेले सबै वडाबासीलाई साबुन उपलब्ध गराएका हुन् । उनले २५ हजार रुपैया बराबरको साबुन खरिद गरेर विभिन्न वडाका ४५० घर परिवारलाई बाढेका थिए । सरसफाईमा ध्यान दिन र स्वस्थ जीवन जिउन आफ्नो क्षेत्रका नागरिकलाई पहिलो चरणमा साबुन सहित सन्देश दिएको वडाध्यक्ष न्यौपानेले बताएका छन् ।

‘हात धोए रोग लाग्दैन अकालमा मर्नु पर्दैन भन्ने विश्वव्यापी सन्देश छ तर गाउँमा त्यसको चेतना कम छ । त्यसलाई सुधार गर्न आवश्यक लाग्यो र व्यक्तिगत खर्चमा सबैका हातहातमा पुग्नेगरि साबुन उपलब्ध गराएँ । केही घरमा पुग्न बाँकी छ भोलि सम्ममा पुग्छ ।’ उनले भने ,‘साबुन सहित घरघरमा हातधुने तरिका सिकाउन स्वयंसेवक खटाइएको छ ।

पहिलो पटक जनप्रतिनिधि हुनुको नाताले मैले मेरो क्षेत्रका नागरिकलाई सहयोग गरेको छु । अर्को पटक देखि आफैं सरसफाईका सामाग्री किनेर जीवन रक्षाका लागि स्वयं वडाबासी लाग्नु पर्ने समेत उनले बताए । खिजीकातीका घरघरमा स्वास्थ्यकर्मी, वडाका जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयंसेविका मार्फत हातधुने तरिकका सिकाउँदै साबुन वितरण गरिएको छ ।

वडाध्यक्षको अभियानमा साथ दिँदै स्थानीय युवा देबकृष्ण खड्काले वडाबासीलाई कपडा धुने साबुन उपलब्ध गराउनु भएको छ । पुनःनिर्माण प्राधिकरण अन्तर्गत खिजीकातीमा कार्यरत खड्काले १० हजार रकम बराबरको कपडाधुने साबुन किनेर गाउँमा वितरण गरेका हुन् ।

खिजीकातीमा कोरोनाको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाईएको छ । वडामा हेल्थ डेक्स सञ्चालन गरेर नियमित स्वास्थ्य परिक्षणको काम भईरहेको छ भने विदेशबाट आएका र कोरोना शंका लागेकाहरुलाई राख्न क्वारेन्टाइन समेत निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्