कोरोना भाइरस रोकथामका लागि कामपा १५ र सेनाबिच छलफल



१८ चैत २०७६, काठमाडौं

कोरोना भाईरस (कोभिड १९) ले  महामारीको रुपमा हाल विश्वलाई नै आतङ्कित तुल्याइरहेको अवस्थामा काठमाडौं महानगरपालिका वडा नं. १५ ले वडाध्यक्ष तथा महानगरका प्रवक्ता ईश्वरमान डंगोलको नेतृत्वमा भाइरससँग लड्न तयार पारेको दीर्घकालिन योजनाबारे छाउनी ब्यारेकस्थित रेञ्जर रेजिमेन्टको प्राङ्गणमा छलफल सम्पन्न गरेको छ ।

१७ चैत २०७६ को छलफलमा वडाध्यक्ष डंगोलसहित वडा सदस्यहरु निमा घ्याम्चो तामाङ, आनन्दराम गौतम, मैयाँलक्ष्मी महर्जन,  महानगरीय प्रहरी बृत्त स्वयम्भूका प्रमुख डिएसपी लालध्वज सुवेदी, सशस्त्र बल हेडक्वार्टरका डिएसपी सुमन जंग थापा, रेञ्जर फर्स्ट बटालियनका गणपति कर्णेल नानु खड्का, रेञ्जर रेजिमेन्टका मेजर सिताराम बस्नेत, रेञ्जर फर्स्ट बटालियनका मेजर नानु खड्का तथा स्थानीय र विभिन्न क्लबका स्वयंसेवकहरुको उपस्थिति रहेको थियो ।

छलफलले खाद्यान्न संकट र संक्रमणको न्यूनीकरण गर्न दैनिक जीवनयापनलाई चाहिने न्यूनतम खाद्यान्नलाई न्यूनतम मूल्यमा घर–घरमा पुर्‍याउनको लागि वडास्तरीय एक समूह गठन गर्ने निर्णय गरेको छ । उक्त समूहमा नेपाली सेना,सशस्त्र प्रहरीबल र नेपाल प्रहरीको समेत सहभागिता रहनेछ ।

छलफल पश्चात कोरोना संक्रमण सुरक्षार्थ रेञ्जर रेजिमेन्टबाट बनाएको पर्सनल प्रोटेक्टिभ इक्यूप्मेन्ट (पीपीई)को प्रदर्शन पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्