सशस्त्र प्रहरीले लौरो भाँचिने गरी गरेको कुटपिटको विषयमाथि कारबाही शुरु



१७ चैत्र २०७६, काठमाडौं

सशस्त्र प्रहरी बल नेपालका एक जवानले भारतीय सीमा क्षेत्रमा दुई जना युवालाई लाठी भाँचिने गरी बारम्बार कुटपिट गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

करिब पाँच मिनेटको उक्त भिडिओमा ती जवानले घुमीघुमी घोप्टो पारेर लौरो नै भाँचिने गरी कुटपिट गरेका देखिन्छ । यतिसम्म कि कान समातेर माफी माग्दा समेत छाड्दैनन् ।

कुटपिटले मात्र नपुगेर कुखुरा बनाएर बालुवामा घिस्रिँदै घुम्न लगाएको भिडिओमा देख्न सकिन्छ । भिडिओमा ती जवानले गालीगलौज गर्दै दुई युवाहरुलाई बारम्बार चुट्छन् ।

ती युवाहरुले झोलामा सामान ल्याएको देखिन्छ । उनीहरुबीचमा भएको संवाद त सुनिँदैन । यद्यपि, सामाजिक सञ्जालहरुमा ती युवाहरुमाथि ज्यादति भएको आवाज उठेको छ ।

उनीहरुलाई आफ्नो गल्तीअनुसार कानूनी कारबाही गर्नुपर्ने ठाउँमा आफैँले लाठी हान्नुले मानवअधिकारको गम्भीर उल्लंघन भएको प्रष्ट देखिएको छ ।

यो घटना सप्तरीको रामनगरको हो । भिडिओ भाइरल भएपछि ती जवान र सहायक हवलदारलाई कारबाही हुने भएको छ । सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डीआइजी प्रविणकुमार श्रेष्ठले कारबाही प्रक्रिया अघि बढाइएको बताएका छन् ।

यस्तै उनले सीमा नाकामा खटेका कुनै पनि प्रहरीले कुटपिटलगायतका क्रियाकलापहरु गर्न नहुने परिपत्र भएको पनि बताए ।

https://www.facebook.com/janasanchar1/videos/165806867874851/?t=122

प्रतिक्रिया दिनुहोस्