‘लकडाउन्’का कारण भारतमा अलपत्र नेपालीहरुको प्रश्न-‘आफ्नो देशमा आउन पनि नाराबाजी गर्नुपर्ने ?’



१७ चैत्र २०७६, काठमाडौं

भारतका विभिन्न स्थानमा स्वदेश फर्किएका नेपाली नागरिकहरु अलपत्र परेका छन् ।

धारचुलामा करिब पाँच सय नेपाली अलपत्र परेका छन् भने नयाँदिल्लीसहित अन्य क्षेत्रमा पनि सयौँ नेपाली अलपत्र अवस्थामा रहेका छन् ।

भारतमा रहेका केही नेपालीले आफूहरु नेपाल जान चाहेको तर जाने व्यवस्था नभएकाले अलपत्र परेको बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

कति संख्यामा नेपालीहरु अलपत्र परेका छन् भन्नेबारेमा यकिन तथ्यांक नभए पनि धारचुलामा कम्तिमा पनि पाँचसय नेपाली अलपत्र अवस्थामा रहेको दार्चुला प्रशासनले जनाएको छ ।

सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकहरुले ‘आफ्ना जनता फिर्ता ले’ ‘नेपाली नाका फिर्ता गर’ भन्दै लगातार नाराबाजी गरिरहेको भिडियो सार्वजनिक भएको छ ।

उनीहरुले आफ्नै देश फर्किन पनि यसरी नाबाजी गर्नुपर्ने भन्दै सरकारलाई प्रश्न गरेका छन् । उनीहरुले नेपाल फर्किन पाउनुपर्ने माग गरेका छन् ।

उता, भारतमा रहेका नेपालीहरूलाई आफू बसेकै स्थानमा सुरक्षित रहन सरकारले पुनः अनुरोध गरेको छ । अन्तर्राष्ट्रिय सीमा बन्द भएको र चैत २५ सम्म ‘लकडाउन्’ लम्बिएकाले भारतका विभिन्न भूभागमा रहेका नेपालीहरूलाई यथास्थानमै रहन सरकारले आग्रह गरेको छ ।

कोरोनाले विश्वव्यापी महामारीको रूप लिइसकेकाले आफू बसेको ठाउँ छाडेर बाहिर निस्कँदा झनै जोखिम बढ्ने सरकारको ठहर छ ।

रोजगारीको सिलसिलामा भारत पुगेका र काम ठप्प हुँदा अलपत्र रहेका नेपालीलाई त्यहीँको सरकारले व्यवस्था गर्नुपर्ने पराराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको तर्क छ ।

कोरोना सङ्क्रमण देशभित्रै फैलिइरहेकाले अहिलेको परिस्थितमा भारतबाट उद्धार गरेर ल्याउने अवस्था नरहेको, बरु त्यहीँको सरकारलाई अनुरोध गरेर व्यवस्थापनका लागि आग्रह गरिएको ज्ञवालीको भनाइ छ ।

|तस्वीरमा नेपाल फर्कदैँ नेपालीहरु। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्