‘मानवता’



‘मानवता’

लघुकथा/ नरे दिनभरी चोकको सुमेरु मार्टमा काम गर्छ । ग्राहकका अर्डरअनुसारका सामाग्री साइकलमा हालेर घरघरमा पुर्‍याइदिन्छ । अलि अस्ति रातभरि खोकेर सुत्न सकेन अनि साहुजीले पसलबाट निकाल्ने कुरा गरे ।

गहभरी आँशु टलपलाउँदै नरेले बिन्ती गर्‍यो । “साहुजी म सानैदेखि हजुरकैमा बसें यहिं सेवा गरिरहेको छु । मेरा जन्म दिने आमाबाबा अनि आफन्त कोही छैनन् । जन्म दिने नभए नी कर्म दिने आमाबाबा हामी हौं भन्नुहुन्थ्यो । आज म यो आपत्को बेला कहाँ जाउँ ? बरू एउटा कोठामा अलग्गै ढोका थुनेर बस्छु नी, बाँचेछु भने फेरि काम सघाउँछु, मरेछु भने सक्किगो…!”

साहुजी : “अँहँ हुँदैन । तँं छिटो निस्किहाल । यहाँ मेरा ग्राहक भट्किन्छन्, मेरा छोराछोरीलाई सर्छ, तँ निस्किहाल ।”

साहुजीको कुराले छातीमा मुड्की बजार्दै नरे निस्कियो । हान्निएर फुलचोकीको जङ्गलमा पुग्यो र एउटा गोठमा सहारा मागेर बस्यो । साग सिस्नु, दूध मोही, ढिँडो रोटो खाँदै बस्यो ।

नरेको खोकी निको हुँदै गयो । अर्गानिक खानाले नरे रिष्टपुष्ट पनि हुँदै गयो । एक दिन गोठमा झुन्ड्याइराखेको रेडियोले समाचार भन्दै थियो । “सुमेरु मार्टका साहुजी कोरोना संक्रमित, अवस्था नाजुक, ॐ हस्पिटलको आइसीयूमा भर्ना…! समाचार टुङ्गिनै नपाई नरे टोपी झिकेर दौडियो ।

गाडी भेटेपछि चढेर ॐ हस्पिटल पुग्यो र साहुजीका बारेमा बुझ्यो । डाक्टरको सुझावअनुसार साहुजीलाई कोरोनासँग लड्न सक्ने वा इम्यूनिटी पावर बढाउन डाइरेक्ट फ्रेस रगत चाहिएको रहेछ । कोरोना सर्छ भनेर परिवारका सदस्य वा आफन्त कसैले नि दिन मानेका रहेनछन् । नरेले म आफैँ दिन्छु भनेर तम्तयार भयो । नरेको फ्रेस रगत डाइरेक्ट दिएपछि साहुजी अलि होसमा आए ।

केही दिन हस्पिटलमा नै बिरामी कुरुवा कक्षमा कुरेर बस्यो नरे । पन्ध्र दिनको हस्पिटल बसाईपछि साहुजी निको भए । डिस्चार्ज भएपछि सबैकुरा थाहा पाए र नरेलाई अंगालो हालेर रोइरहे ।

नरे पनि साहुजीको गाला मुसारीरह्यो धेरैबेर !

लेखिकाः मानवअधिकारकर्मी तथा साहित्यकार हुन् ।

प्रकाशित मितीः १७ चैत्र २०७६, काठमाडौं

प्रतिक्रिया दिनुहोस्