
१७ चैत्र २०७६, काठमाडौं
गत ११ चैत्रदेखि शुरु भएको ‘लकडाउन्’को अवधिमा १ हजार २ सय ५५ पर्यटकको उद्धार गरिएको छ ।
पर्यटन बोर्डका प्रवक्ता लिला बानियाँका अनुसार देशभरका १९ वटा पर्यटकीय गन्तव्यबाट यूरोप, अमेरिका, रुस, दक्षिण कोरियालगायत मुलुकका पर्यटकलाई सडक र हवाईमार्गबाट उद्धार गरेर काठमाडौं ल्याइएको थियो ।
आइतबार साँझसम्म पर्यटन बोर्डले संकलन गरेको तथ्यांकअनुसार, लुक्ला, पोखरा, ताप्लेजुङ, जोमसोम, अन्नपूर्ण आधार शिविर, मुक्तिनाथ, लाङटाङ, मनास्लु, गोरखा, लेते, बेशसहर, काँडे, संखुवासभा, झापा, बेनी र झिनुडाँडाबाट पर्यटकलाई उद्धार गरिएको थियो ।
लुक्लाबाट सबैलाई हेलिकप्टर र जहाज चार्टर गरेर उद्धार गरिएको बोर्डले जनाएको छ । त्यस क्षेत्रबाट ५४ जना नेपाली गाइड तथा भरियालाई पनि उद्धार गरिएको बोर्डले जनाएको छ ।
बोर्डका सीइओ धनञ्जय रेग्मीका अनुसार ‘लकडाउन्’अघि देशभर घुमघाममा रहेका करिब १० हजार पर्यटक विभिन्न ठाउँमा अलपत्र छन् ।स्थानीय प्रशासनको सहायतामा बोर्डले उद्धारमा समन्वय गर्दै आइरहेको छ ।
|तस्वीरमा पोखरामा पर्यटक। फाइल तस्वीर|





