‘लकडाउन्’को समय बढीमा १४ दिन थप गर्ने उच्चस्तरीय समितिको निर्णय



१६ चैत्र २०७६, काठमाडौं

सरकारले करिब १४ दिन ‘लकडाउन्’को समय थप गर्ने भएको छ । कोरोना संक्रमण न्यूनीकरण तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी ‘लकडाउन्’को समय थप्ने निर्णय गरेको हो ।

उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो समितिको आइतबार बसेको बैठकले ‘लकडाउन्’ ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गर्दै यो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको हो ।

मन्त्रिपरिषद्को बैठक आजै बोलाइएको छ भने मन्त्रिपरिषद्ले यसबारे आवश्यक निर्णय लिनेछ । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता ‘लकडाउन्’को घोषणा गरेको थियो ।

सो ‘लकडाउन्’को समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । तर कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै समितिले ‘लकडाउन्’को समयावधि लम्ब्याउने निर्णय लिएको हो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्