गुणस्तरहीन भन्दै स्पेनले फिर्ता गर्यो, चीनले दिएको परीक्षण किट्स



१५ चैत्र २०७६, काठमाडौं

स्पेनले तीस प्रतिशत मात्रै पहिचान गर्न सक्ने र गुणस्तरहीन भएको भन्दै चीनले दिएको कोभिड १९ (कोरोना भाइरस) परीक्षणका किट्स फिर्ता गरेको छ ।

स्पेनी सरकारले ५८ हजार वटा चीनमा बनेका टेस्ट किट्सहरु फिर्ता गरेको हो । स्पेनमा हालसम्म ६५ हजारभन्दा बढी मानिसहरु कोरोना संक्रमित भइसकेका छन् ।

चीनमा बनेका किट्सहरु स्पेनी सरकारले केही हप्ता अघि ल्याएको थियो । तर ती किट्सहरु गुणस्तरीय नभएको पाइएको हो ।

चीन सरकारले भने उक्त किट्सहरु आफ्नो सूचीमा भएको आधिकारिक कम्पनीले निर्माण नगरेको स्पष्टिकरण दिएको छ ।

बिहीबार विज्ञप्तीमा बताइए अनुसार स्पेनको स्वास्थ्य मन्त्रालयले किट्स फिर्ता पठाउने बताएको हो ।

तर ती किट्सहरु सिधै चीनबाट चिनियाँ निर्माताबाट नल्याएको उल्लेख गरेको छ । स्पेनमा रहेको सप्लाइ कम्पनीबाट चीनका ती सामाग्रहीहरु खरिद गरिएको थियो ।

मन्त्रालयले शुरुमा टेस्ट किटबाट म्याड्रिडको अस्पतालमा परीक्षण गरिएको र पछि अरु स्वास्थ्य संस्थामा दिइएको बताएको छ ।

‘केही समयपछि नै उक्त किट्सहरुको गुणस्तर ठिक नभएको पत्ता लागेको थियो । र त्यसलाई फिर्ता गरिएको हो । आपूर्तिकर्तासँग सम्पर्क भइसकेको छ त्यसको सट्टामा अरु किट्स दिनेछ ।’ मन्त्रालयले भनेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको पत्रमा उक्त सामग्रीहरु ग्वानडोङ प्रान्तको सान्जेन बायोइजी बायोटक्नोलोजी कम्पनीले निर्माण गरेको उल्लेख छ ।

हालै स्पेनी अधिकारीहरुले करिब ६ लाख ५० हजार र्‍यापिड टेस्टिङ किट वृद्धाश्रम र मेडिकल स्टाफहरुलाई बाँडिरहेका छन् । एजेन्सी

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्