१५ चैत्र २०७६, काठमाडौं
लोकप्रिय भारतीय चलचित्र ‘बाहुबली’का भारतीय अभिनेता प्रभासले भारत सरकारलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमणविरुद्ध लड्न ४ करोड भारतीय रुपैयाँ प्रदान गरेका छन् ।
कलाकारले सरकारलाई दिएको यो ठूलो रकम हो । उनले प्रधानमन्त्री सुरक्षा कोषमा ३ करोड रुपैयाँ, तेलंगाना प्रदेशको मुख्यमन्त्री कोषमा ५० लाख र आन्ध्र प्रदेशको मुख्यमन्त्री कोषमा ५० लाख रुपैयाँ प्रदान गरेका हुन् ।
उनले बिहीबार यो रकम प्रदान गरेको बताएका छन् । यो सहयोगका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले यी अभिनेतालाई धन्यवादसमेत दिएका छन् ।
आफ्नो अघिल्लो फिल्म ‘प्रभास २०’को सुटिङका लागि जर्जियामा रहेका अभिनेता प्रभास यही फिल्मकी अभिनेत्री पूजा हेगडेसँग भारत फर्किएका छन् ।
विदेशबाट आएका कारण अभिनेता प्रभास र अभिनेत्री पूजा दुवै जना अहिले सेल्फ क्वारेन्टायनमा छन् । अहिलेसम्म आफ्नो अवस्था ठीक रहेको दुवैजनाले बताएका छन् । –एजेन्सी
|तस्वीरमा अभिनेता प्रभास| फाइल तस्वीर|





