‘G-20’को आपत्कालीन शिखर सम्मेलन आज हुँदै, ‘कोरोना’बारे छलफल हुने



१३ चैत्र २०७६, काठमाडौं

२६ मार्च (आज) विश्वका २० धनी राष्ट्रहरुको संगठन [G-20]को आपत्कालीन शिखर सम्मेलन साउदी अरबमा हुँदैछ।

सम्मेलनको अध्यक्षता साउदी अरबका राजा सलमान बिन अब्दुल अजिज अल सउदले गर्दैछन्।

सम्मेलन भिडियो कन्फेरेन्समार्फत् हुँदैछ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस)विरुद्धको लडाइँमा विश्वका ठूला र धनी राष्ट्रहरुले सामूहिक प्रयास नगरेको भन्दै आलोचना भइरहेको बेला उक्त आपत्कालीन शिखर सम्मेलन हुन लागेको हो।

G-20 शिखर सम्मेलनको सचिवालयले २५ मार्च (हिजो) प्रकाशित गरेको प्रेस विज्ञप्तिअनुसार सम्मेलनमा ‘कोरोनाको महामारी र यसबाट परेको मानवीय तथा आर्थिक प्रभाव’बारे छलफल हुनेछ।

यो सम्मेलनमा इटाली, स्पेन, जोर्डन, सिंगापुर र स्विजरल्याण्डलगायतका कोरोना प्रभावित मुलुकका प्रतिनिधिहरु पनि सहभागी हुने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सम्मेलनमा संयुक्त राष्ट्रसंघ, विश्व बैंक, विश्व स्वास्थ्य संगठन, विश्व व्यापार संगठन, अन्टर्राष्ट्रिय मुद्रा कोष र आर्थिक सहयोग एवं विकास संगठनका प्रतिनिधिहरु पनि सहभागी हुँदैछन्।

सम्मेलनमा दक्षिण पूर्वी एशियाली मुलुकहरुको संगठन आसियान, अफ्रिकी संघ, खाँडी सहयोग परिषद् र अफ्रिकाको विकासका लागि नयाँ साझेदारी (एन्इडीएडी) जस्ता क्षेत्रीय संगठनहरुको पनि सहभागिता हुने बताइएको छ।

G-20 मा भारत, अर्जेन्टीना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, जर्मनी, फ्रान्स, इण्डोनेशिया, इटाली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, ब्रिटेन र अमेरिका रहेका छन्।

तस्वीरमा G-20 । फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्