‘कोरोना’का कारण आएको पाँच सकारात्मक परिवर्तन : जुन न पहिले आए, न पछि आउनेछन् !



१२ चैत्र २०७६, काठमाडौं
सन् २०२० को सुरुवातसँगै देखिएको कोभिड १९ (कोरोना भाइरस)का कारण यत्तिबेला विश्व नै आतंकित छ ।
यो भाइरसबाट बच्नको लागि विश्वका धेरै देशहरुले ‘लकडाउन्’को बाटो रोजिरहेका छन्।
अहिलेसम्म कोरोनाको कारण झण्डै १८ हजार मानिसहरुको ज्यान गइसकेको छ भने लगभग ४ लाख बढी संक्रमित भइसकेका छन्।
यद्यपि, यसको सवल पक्ष पनि उत्तिकै छन्। साधारणतयाः कोरोनाको दुर्वल पक्षको बारेमा त हामी जानकार छौं नै।
तर, आज हामी यसको सवल पक्षको बारेमा चर्चा गर्दैछौं। हेरौं=
१, प्रदूषणको कमी
कोरोना भाइरसका कारण सयौं देशमा ‘लकडाउन्’ गरिएको छ । र, यसको कारण प्रदूषणको स्तरमा कमी आएको छ । चीन तथा इटाली दुवै देशमा कोरोनाले अत्यन्त धेरै असर गरेको छ । तर, यी दुवै देशमा वायु प्रदूषण पनि निकै घटेको छ ।
‘लकडाउन्’ गरिएका देशमा उद्योगहरु बन्द हुँदा र गाडीहरु कम चल्दा हावाको गुणस्तर निकै राम्रो भएको रिपोर्टहरु सार्वजनिक भएका छन् । यसको प्रतिनिधित्व गर्ने एउटा देश नेपाल पनि हो। यस्तै न्यूयोर्कमा केही शोधकर्ताहरुले गत वर्षको तुलनामा यस वर्ष कार्बन मनोअक्साइडमा ५० प्रतिशत सुधार आएको बताएका छन् ।
त्यसैले यो वर्ष विश्वमा तापक्रम कम हुने र यसले वातावरणलाई राम्रो गर्ने पनि उनीहरुको बुझाइ छ।
२, पानीको गुणस्तरमा सुधार
भेनिसमा रहने मानिसहरुका अनुसार शहरका नहरमा जुन पानी पहिले बहन्थ्यो, अहिले त्यो निकै परिवर्तन भएको छ ।
त्यहाँको पानीको गुणस्तरमा निकै सुधार आएको छ । कोरोना भाइरसका कारण उत्तर इटालीको लोकप्रिय पर्यटकीय गन्तव्य पूरै सुनसान छ । अनि यसका कारण त्यहाँ पानीको प्रयोग पनि कम भएको छ ।
र, त्यहाँ पाइने पानी पनि स्वच्छ हुँदै गएको छ । त्यहाँका केही कुवाहरुमा पानी कतिसम्म सफा भएको छ भने पहिले त्यसमा केही देखिँदैनथ्यो, अब त्यहाँ माछाहरु देखिन थालेको बताइन्छ।
३, उदार देखिँदै मनहरु
कोरोना भाइरसका कारण सयौं शहरहरु पूर्ण रुपमा अहिले बन्द गरिएका छन् ।
घरमा कहिलेसम्म बस्नु पर्ने हो भन्ने यकिन नभएका कारण मानिसहरुले आसपासका स्टोरहरुबाट सामानहरु आफूलाई चाहिनेभन्दा धेरै जम्मा गरिरहेका छन् ।
फेसबूककाअनुसार बेलायतमा कयौँ मानिसहरु कोरोनाविरुद्ध लड्नका लागि एउटा समूहमा मिसिएका छन् । क्यानडामा पनि यस्तै भएको छ ।
यसले गर्दा सहयोगी मनहरु बढ्दै गएको विश्वमा चर्चा चल्न थालेको छ ।
४, एकजुट हुँदै मानिसहरु
कामको चापका कारण मानिसहरु बारम्बार आफूलाई र आफ्नो परिवार र समुदायलाई समय दिन सक्दैनथे ।
तर, अब सबै कुराहरु बन्द भएका कारण मानिसहरु घरमा बस्न थालेका छन् । यहीबीच इटालीमा मानिसहरु बरन्डामा निस्किएर संगीतमा रमाइरहेका छन् ।
यसले समाजमा एकअर्कासँगको हार्मोनी बढाएको विश्वका अध्ययनकर्ताहरुले निष्कर्ष निकालेका छन् ।
आफ्ना परिवार तथा साथीहरुसँग मानिसहरुले राम्रोसँग समय बिताउन पाउँदा निकै राम्रो भएको उदाहरणहरु अहिले सामाजिक सन्जालमा हजारौँले पोस्ट् गरिरहेका छन् ।
५, बढ्दै सिर्जनशीलता
विश्वभर कोरोना भाइरसका कारण जो मानिसहरु आफ्नो घरमा बसिरहेका छन्, उनीहरुले आफ्नो सिर्जनात्मक अभ्यासलाई बढाउन पनि पाएका छन् ।
सामाजिक सन्जालमा मानिसहरुले सिर्जनात्मक काम गरिरहेको कुराहरु लेखेका छन्, त्यसलाई पोस्ट् गरिरहेका छन् । ठाउँठाउँमा भर्जुअल संसारको बढावा भइरहेको छ ।
वासिङ्टनमा भर्जुअल’ बुक क्लब शुरु भएको छ, लन्डनमा भर्जुअल पब शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्