१ कोरोना संक्रमितले ५९ हजारलाई सार्न सक्छ : डा. ह्यु मन्टगोमरी



१२ चैत्र २०७६, काठमाडौैं

अहिले विश्वव्यापी रुपमा कोभिड १९ (कोरोना भाइरस)को आतंक फैलिरहेको छ।

अहिलेसम्म यो भाइरसबाट १८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ४ लाख २२ हजारभन्दा बढी संक्रमितहरु भइसकेका छन्।

यसैबीच एक चिकित्सकले एक कोरोना संक्रमितले ५९ हजारलाई संक्रमित गराउन सक्ने बताएका छन्।

युनिभर्सिटी कलेज लन्डनस्थित इन्टेन्सिब केयर मेडिसिनका प्राध्यापक डा. ह्यु मन्टगोमरीले कोरोनाको संक्रमण एक व्यक्तिबाट ३ व्यक्तिमा भए पनि यो १० लेयरमा पुग्दा संक्रमणको दर उच्च हुने बताएका हुन्।

‘डेली मेल’को रिपोर्टअनुसार च्यानल ४ सँग कुरा गर्दै डा. ह्युले सामाजिक दुरी कायम राख्न पनि अपिल गरेका छन्।

“सामान्य फ्लुले औषत १.३ देखि १.४ व्यक्तिलाई संक्रमित बनाउन सक्छ। फ्लुको समयमा अघिल्लो संक्रमित व्यक्तिले अन्यलाई पनि संक्रमित बनाउन सक्छ। यसैगरी १० पटसम्म संक्रमणको चक्र चल्दा संख्या ठूलो हुन्छ।” डा. ह्युले भनेका छन्।

फ्लुलाई कोरोना भाइरससँग तुलना गर्दै ह्युले कोरोना भाइरस एक व्यक्तिबाट औषत ३ व्यक्तिमा फैलन सक्ने बताएका छन्।

ह्युले यसलाई अझ स्पष्ट पार्दै भनेका छन् ‘कोरोना भाइरस एक व्यक्तिबाट ३ व्यक्तिमा सर्न सक्छ।’ यो लेयर १० पटकमा ५९ हजार मानिसलाई संक्रमित बनाउन सक्ने उनले बताए।

ह्युले उदाहरणका दिँदै भनेका छन्, ‘कोरोना भाइरस १ व्यक्तिबाट ३, ३ बाट ९, ९ बाट २७, २७ बाट ८१, ८१ बाट २४३, २४३ बाट ७२९, ७२९ बाट २१८७, २१८७ बाट ६५६१, ६५६१ बाट १९६८३, १९६८३ बाट ५९०४९ व्यक्तिमा संक्रमण फैलन सक्छ।’

उनले संक्रमित भएकामध्ये केही मात्र विरामी हुने पनि उल्लेख गरेका छन्। यस्तै उनले कूल संक्रमितमध्ये कमै मात्र विरामी हुने र त्यसमध्ये पनि कमैलाई मात्र आइसीयूमा राख्नुपर्ने अवस्था आउने बताएका छन्।

यद्यपी जो संक्रमित विमारी भएका छैनन् उनीहरुले पनि अरुलाई संक्रमण फैलाउन सक्ने ह्युले बताएका छन्।एजेन्सी

प्रतिक्रिया दिनुहोस्