त्यो बेला…



११ चैत्र २०७६, काठमाडौं

म सानो छदाँ , ९० काटिसक्नु भएको थियो मेरी बुढी हजुर आमाले,
म उहाँकी पहिलो पनातिनी साह्रै मायाले पुलपुलिएकी ममताले!
मसँग दुई भाई हुर्किँदै गए बढो जतनले,
हामी पनि ठूलो हुँदै गयौं विविध संस्कारले!

नित्यकर्म शुरु हुन्थ्यो ५ बजेबाट,
मिठो चरीका आवाजमा ब्यूझन्थे निन्द्राबाट!
बिहानै उठेर, शौचालय गएपछी, हात मुख नधाइ सफा कपडा नफेरी न दुध पिउन पाइन्थ्यो न त आरती गर्न,
सबेरै घरमा नित्य पूजा हुन्थ्यो र शंख घण्टा बज्थ्यो!

वेदका मन्त्रले शालिग्रामको पूजा आराधाना हुन्थ्यो,
हामी जानी नजानी दुई हात जोडेर पूजामा सरिक हुँदै लयबद्ध भजन गाउथ्यौं!
तुलसी राखेको प्रसाद बाँड्नु हुन्थ्यो हजुर बा,
केराको पातमा अलग्गै थापेर हामी तुलसी मिश्रित प्रसाद खान्थ्यौं!

अनि भुइँमा शिर राखेर साष्टाङ्ग दण्डवत गर्थ्यौं,
त्यसैले पनि होला साधारणतयाः हामी कहिलेकाहीँ रुघाखोकी बाहेक अरु विरामी परेनौं भनेपनि हुन्छ!
हामी अस्पताल र औषधिबाट टाढै थियौं,
भन्नुको अर्थ हामीलाई भाइरस र ब्यक्टेरियाले छुन डराउँथ्यो!

आमाले तामाको गाग्रीमा राखेको पानी पिलाउनुहुन्थ्यो,
दुध चिया पिउनुअघि र त ग्याष्ट्रीकको नाम सुनिएन त्यतिबेला!
किसानको घरमा जन्मेपछि गाई भैंसी खेतिपाती अवश्य हुन्छ,
बा आमासँगै हामी पनि साथ जान्थ्यौं!

सकेको खेत बारीमा सहयोग गर्दा हामीलाई स्वच्छ हावापानीले स्वतः स्फुर्त हुने गर्थ्यौं,
शारीरिक मानसिक रुपले हामी तन्दुरुस्त थियौं!
घर फर्केर आउँदा हजुर आमाले भान्सा तयार पार्नुहुन्थ्यो,
खानुअघि पहिले गाईलाई कौवा, कुकुर, बिरालोलाई खुवाएरपछि हजुरआमाले कन्या भन्दै मलाई खुवाएर मात्रै अरुलाई खुवाउनुहुन्थ्यो!

भाइ र बा सेतो सफा धोती फेरेर खाना खानुहुन्थ्यो,
म र आमा पनि कपडा फेरेर खान खान्थ्यौं!
हामी केटाकेटीले भान्सामा पस्न निषेध थियो,
काठको पिर्कामा बसेर पलेटी कसेर हात धोई पखाली भात खान्थ्यौं!

एकादशीमा भात वर्जित थियो,
घरमा हामी दही मोही र दुध सग रोटी ढिडो खुब स्वादले खान्थ्यौं!
बा मोही पार्नुहुन्थ्यो घारsss घुरsss हामी नौनी र मिस्री मिसाएर खान्थ्यौं,
बाले साल धुप को धुप हाल्दा घर नै मगमगाउँथ्यो!

घरमा किरा फट्याङ्ग्रा आउने कुरै थिएन,
यसरी जन्तु जनावर सबैलाई माया गर्न सानैबाट हामीलाई हजुरआमाले सिकाउदै जानुभयो!
बिल्कुलै शाहाकारी भोजन खाँदा हामी तन्दुरुस्त थियौं,
घर नजिक ठूलो चौर र पिपलको बोट थियो!

हामी साँझ बिहान त्यहाँ खुब रमाएर खेल्थ्यौं,
पिपलको बोटले दिएको अक्सिजनले हामीलगायत गाउँ मै दम, टीबीले कसैलाई दुःख दिएको थिएन!
श्वास प्रश्वासको विरामी कोही थिएनन्,
ताजा तरकारी आमाले घरमै रोप्नुहुन्थ्यो!

विषालु औषधिको प्रयोग हुने कुरै भएन,
बगैंचाभरि सुन्तला, केरा, आरु, आरुपखडा, अंम्बा, कागती, भुइँ कटहर आदिका रुखहरु प्रसस्तै थिए!
ताजा फलफूल र आफ्नै खेतबारीमा उमारेको अन्नपात भकारीभरि थिए,
जसले गर्दा अनिकालको शब्दै सुनेको थिएनौं हामीले!

आमाले तितौरा, मस्यौरा, गुन्द्रुक, र सिन्की बनाउनुहुन्थ्यो,
हामीले पनि सिक्दै गयौं,
अफ सिजनको लागि जोहो गर्ने तरिका!
हामी पाहुनालगायत सबैलाई मान्यवरलाई नमस्कार गर्थ्यौं,

आजभोलिको हाइ, हेल्लो र हग गर्ने चलन थिएन!
आज नेपाली नमस्कारले विश्वलाई नेपालीपनले जोड्दै छ,
छुवाछुत थिएन त्यो व्यक्तिगत सरसफाइ, सुरक्षा र सस्कारले हामी धनी रहछौं!
आमाले साँझ घरमा पसेपछि फिट्किरी पानीमा हाम्रो हात खुटा धोई दिनुहुन्थ्यो,

फिट्किरीले ब्याक्टेरिया भाईरस मार्ने रहेछ!
बेलुकी सुत्ने बेलामा अगेनामा दुध तताउनुहुन्थ्यो हजुरआमाले,
हामीमी आगो ताप्दै हजुर आमाको कथा सुन्थ्यौं!
पौराणिक कथा, चुट्किला, गीत,भजन, श्लोक आदि इत्यादीले हाम्रो चेतनाको स्तर माथि उठ्न निक्कै सहयोग पुग्दै गयो,

आमाले तेल लगाएर हाम्रो हात खुट्टा मालिस गर्नु र तातो दुध पिलाएर सुताउनुहुन्थ्यो जस्ले राम्रो निद्रा पर्दथ्यो!
त्यो संस्कार सभ्यतामा कोरोना, इबोला, बर्ड फ्ल्यु जस्ता भाइरस थिएनन्,
आज फेरी आफ्नो सस्कारलाई दिनचर्यामा अपनाउने दिन आएको छ।!
बाँचौं र बचाऔं हामी सबैले यो महामारीबाट जोगिन तयारीमा जुटौं,

सबैभन्दा ठुलो कुरा आत्मबल हो।!
प्रतिरोधात्मक क्षमता बढाउने कुरामा ध्यान दिँदै जाऔं,
ज्ञानको भण्डार हो स्वाथ्य शिक्षा, तसर्थः स्वास्थ श्वास लिँदै जाउँ!

रुबी सत्याल
काठमाडौं

प्रतिक्रिया दिनुहोस्