कोरोनामय विश्व-‘यसरी बढाऔं आत्मबल’



११ चैत्र २०७६, काठमाडौं

यत्तिबेला देश कोभिड १९ (कोरोना भाइरस)को ठूलो चपेटामा छ।

विश्वभरिमा चौध हजारभन्दा धेरै मानिसहरुको ज्यान गइसकेको यो भाइरसबाट अहिले अधिकांश मानिसहरुमा त्रसित छन्।

तर यो समय डराउनुको साटो घरमै बसेर विभिन्न सीप सिक्ने, आफ्नो सिर्जनशीलता बढाउने, पारिवारिक कुराकानी गर्नेलगायका सुझावहरु विज्ञहरुले दिएका छन्।

यसले व्यक्तिमा आत्मबल पनि सजिलै बढ्ने उनीहरुको ठम्याइँ छ। अझ उनीहरुले तीनपक्षीय नियन्त्रण हुनुपर्ने बताएका छन्।

तीनपक्षीय नियन्त्रणले व्यक्तिमा सहज रुपमा आत्मबल बढ्ने उनीहरुको भनाइ छ।

१) मस्तिष्क

हामी पोखरीमा, नदीमा हाम्फाल्छौं भने पौडिन्छौं, हात–खुट्टा चलाउँछौं। यति गरिएन भने डुब्छौं भन्ने हामीलाई थाहा छ। ठ्याक्कै त्यस्तै कोरोनाबाट बच्ने तरिका छन्। घरमै बसियो भने कोरोना आफैं आउँदैन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएका सुझाव पालना गरे पुग्छ। प्रलय आउँछ, जान्छ। भूकम्प आयो, गयो। यसरी सोच्नुपर्छ।

जुन चिजले दिमागलाई नकारात्मक बनाउँछ, त्यो गर्नुभएन। जस्तो : चौबिसै घन्टा कोरोनाबारे अपडेट भइरहनु आवश्यक छैन। समाचारमा कोरोना, युट्युब–फेसबुकमा कोरोना, साथीसँग कुराकानी गर्दा पनि कोरोना भयो भने दिमागमा असर गर्छ नै। कोरोनाले संक्रमण भएको, मरेको हेर्‍यो– थाहा पायो, त्यसमै आत्तिन्छौं। यो थाहा पाउँदैमा संक्रमणबाट बचिने वा अरु फाइदा हुने होइन। त्यसैले सामान्य जानकारीबाहेक कोरोनासम्बन्धी समाचारलाई बेवास्ता गर्नुपर्छ। छिनछिनको चासो घातक हुन्छ। सामाजिक सञ्जाललाई आफन्तसँग सम्पर्क गर्न सकिने माध्यमका रुपमा मात्र प्रयोग गरौं, न कि सूचनाको स्रोत।

२) शरीर

सामान्य अवस्थामा पनि शरीरलाई तन्दुरुस्त राख्नुपर्छ। यस्तो प्रकोप र तनावका बेला थप ध्यान दिनुपर्छ। स्वस्थबर्द्धक खानेकुरा खानुपर्छ। दिनमा कम्तीमा तीन लिटर पानी पिउनुपर्छ। खाएर मात्र हुँदैन, सुत्नुपर्छ। कोरोनाको नकारात्मक सामग्री हेरिरह्यो भने निद्रा लाग्दैन तर आठ त घन्टा सुत्नैपर्छ। व्यायाम एकदमै आवश्यक छ। घरको सरसफाई गर्ने, वरपर हिँड्ने, आफूलाई सक्रिय राख्ने गर्नुपर्छ। तनाव भयो भन्ने बहानामा रक्सी, कफी खानुहुन्न। यसले त चिन्ता घटाउने होइन, झन् बढाउँछ।

३) व्यवहार

यति गर्दा पनि निद्रा लागेन के गर्ने? जब तनाव महसुस हुन्छ, आँखा चिम्लेर लामो श्वास तान्ने, एकदेखि दशसम्म गन्ने अनि बिस्तारै छोड्ने गर्नुपर्छ। हातलाई छातीमाथि राखेर शरीरको हरेक गतिविधिमा एकाग्र भइयो, महसुस गरियो भने मन हल्का हुन्छ। दिनमा कम्तीमा दसपटक यस्तो गर्ने बानी बसालौं।

दिमागमा कोरोना–कोरोना भयो भने त्यसबाट ‘डिस्ट्र्याक’ हुनैपर्छ। १ देखि १०० सम्म गन्ने, अनि १०० बाट उल्टो गन्दै ल्याउने अभ्यास प्रभावकारी हुन्छ। पूरै ध्यान गन्नमै लगाउनुपर्छ। युट्युबमा दिमाग शान्त बनाउने अनेक तरिका सिकाइएको भिडियो हुन्छन्, तिनलाई पछ्याउनु उपयुक्त हुन्छ।

मानसिक बेचैनी हुँदा गीत, प्रहसन, फिल्म र सिरिजहरू एकदमै प्रभावकारी हुन्छन्। गीतलाई त थेरापी नै मानिन्छ। त्यसमाथि परिवारसँगै बसेर सुन्नुभयो, हेर्नुभयो भने अझ राम्रो। खासमा क्वारेन्टाइनमा बस्नुपरेको यो समय पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउने अवसर पनि हो। एक–अर्कालाई ढाडस दिन सकिन्छ। सुख–दुःख सेयर गर्नुपर्छ। यसो गर्दा तनाव रिलिज हुन्छ।

आममान्छेमा सकारात्मक भाव र आत्मबल बढाउन मिडियाको भूमिका महत्त्वपूर्ण हुन्छ। अहिले अखबार, अनलाइन टेलिभिजन हेर्दा लाग्छ, दुनियाँमा कोरोनाको त्रासबाहेक केही छैन। मन हल्का बनाउने कन्टेन्ट असाध्यै कम छन्। जस्तो : कोरोनालाई जितेकाहरुको कथाले धेरैलाई राहत दिन्छ। उसको भोगाइ पढ्दा आत्मविश्वास बढ्छ। चीनमा कोरोना पोजेटिभ भएकाहरूले अहिले स्वयंसेवीको काम गरिरहेका छन्। वृद्धवृद्धा पनि संक्रमणमुक्त भएका छन् तर यस्ता समाचारले कम प्राथमिकता पाउँछ।

हामीमध्ये धेरैलाई के लागेको छ भने त्यति विकसित र सिस्टम भएको युरोपमा त्यतिधेरै मान्छे मरिरहेका छन् भने हामीकहाँ के होला? हरेक पल यस्तै भयले सताइरहेको हुन्छ तर त्यसरी सोच्नुहुन्न। झन्डै ९० प्रतिशत मान्छे त ‘रिकभर’ भइरहेका छन्। फेरि कहाँ के भयो भनेर चिन्ता लिने होइन, आफू सतर्क हुने हो। हामीले थाहा पाइसक्यौं कि यो हावामा उडेर आउँदैन। कोरोना महामारीबारे चाहिनेबाहेक अरु कुराको पछि नलागौं।
यो लेखको केही अंश कान्तिपुर डट कमबाट लिइएको हो। फाइल तस्वाीर।

प्रतिक्रिया दिनुहोस्