कोभिड–१९ : सप्तरीको भारतीय सीमानाका बन्द



१० चैत २०७६, काठमाडौं

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट बच्नका लागि भारतसँग सिमाना जोडिएका १६ नाकासहित सबै नाका आजदेखि सप्तरी प्रशासनले पूर्णरूपमा बन्द गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुनिल खनालका अनुसार जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित तिलाठी नाकासहित भारतसँग सिमाना जोडिएका सबै नाकाहरु बन्द गरिएको छ । कोभिड–१९ सङ्क्रमणबाट जोगिनका लागि सबै नाका बन्द गरिएको भए पनि नाकामा अति आवश्यक समस्या र काम परेका बेला त्यसलाई विशेष स्वास्थ्य जाँच गरेर आउजाउ गर्ने व्यवस्थासमेत मिलाइएको उहाँले जानकारी दिनुभयो ।

सप्तरीको सिमानासँग जोडिएको विहार राज्यमा भाइरस सङ्क्रमण देखिएसँगै थप सतर्कता अपनाइएको छ । भारतबाट आउने मानिसलाई क्वारेन्टाइनमा राख्ने व्यवस्थासमेत सप्तरी प्रशासनले मिलाएको जनाइएको छ । क्वारेन्टाइनमा राख्नका लागि राजविराजस्थित बन्द अवस्थामा रहेको साइकृष्णा अस्पतालमा ५०/६० श्यया तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

भारतबाट आउने व्यक्तिलाई १४ दिनसम्म निगरानीमा राख्ने तथा त्यसपछि अवस्था पहिचान गरेर मात्रै घर फर्काउने वा आइसोलेसन कक्षमा पठाउने तयारीसमेत गरिएको छ । त्यस्तै आइसोलेसनका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा छ श्यया तथा छिन्नमस्ता अस्पतालमा २० श्यया, रुपनीस्थित युनिक अस्पतालमा २० तथा क्षेत्रीय प्रहरी अस्पतालमा १० गरी ५६ श्यया तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भाइरसको सङ्क्रमणबाट बच्न सबैले सावधानी अपनाउनुपर्ने भएकाले अनावश्यकरूपमा हिँडडुल नगर्न तथा घरभित्रै बस्न सप्तरी प्रशासनले जिल्लावासीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्