
०९ चैत्र २०७६, काठमाडौं
कोभिड १९ (कोरोना भाइरस) विरुद्धको प्रयासका लागि सरकारले खडा गरेको कोषमा उद्योगपति तथा व्यवसायीहरुले सहयोगको घोषणा गर्न थालेका छन्।
आइतबार बसेको मन्त्रीपरिषद् बैठकले कोरोना संक्रमणविरुद्ध ५० करोडको कोष स्थापना गर्ने निर्णय गरेलगत्तै व्यवसायी बसन्त चौधरीले एक करोड बराबरको सहयोग गर्ने घोषणा गरेका छन्।
सामाजिक संजाल ट्वीटरमार्फत् उनले नर्भिक तथा बसन्त चौधरी फाउन्डेसनमार्फत् ‘कोरोनाविरुद्धको कोष’मा एक करोड सहयोग गर्ने घोषणा गरेका हुन्।
सो कोषमा मन्त्रीहरुले एक महिनाको पारिश्रमिक प्रदान गर्ने निर्णयसहित सबैको सहयोगका लागि अपिल गरिएको छ।
सोही अन्तर्गत व्यवसायी चौधरीले फाउन्डेसनका तर्फबाट ५० लाख नगद र थप ५० लाख बराबरको अत्यावश्यक मेडिकल सामग्री उपलब्ध गराउने घोषणा गरेका हुन्।
विश्वभर कोरोनाविरुद्धको अभियानका लागि व्यवसायीहरुले आफ्नो तर्फबाट सहयोगको घोषणा गरेको भए पनि नेपालका अधिकांश व्यवसायी भने यसमा अग्रसर देखिएका छैनन्।
केही दिनअघि चिनियाँ व्यावसायी तथा अलिबाबा समूहको संथापक तथा कार्यकारी अध्यक्ष ज्याकमा ले नेपालसहित विश्वलाई कोरोनाविरुद्ध लड्न सहयोग गर्ने घोषणा गरेका थिए।
तस्वीरमा व्यवसायी बसन्त चौधरी। फाइल तस्वीर।





