गायिका कनिका कपुरको कारण धेरै कोरोना संक्रमण हुने खतरा



०९ चैत्र २०७६, काठमाडौं

लखनऊमा गायिका कनिका कपुरको कारण धेरै कोरोना संक्रमण हुने खतरा बढेको छ । संक्रमित कनिकाले लखनऊको एक ठुलो होटलमा पार्टी दिएकी थिइन् । त्यसैले उनीबाट धेरैलाई संक्रमण सरेको हुनसक्ने अनुमान गरिएको छ ।

गायिका कनिका कपूरमा कोरोनाको संक्रमण देखिएपछि संजय गान्धी पीजीआई अस्पतालमा भर्ना गरिएको थियो । अहिले कनिका उक्त होटलको लागि टाउको दुखाइको कारण बनेकी छिन् । अस्पतालले एक विज्ञप्ती जारी गर्दै कनिकाले दुःख दिएको उल्लेख गरेको छ ।

कनिकालाई अस्पतालमा उच्च स्तरिय बेड उपलब्ध गराइएको थियो । त्यहाँ ‘एटेच बाथरुम’ पनि थियो । तर, त्यहाँ उनले बिरामीको भन्दा पनि एक स्टारको जस्तै व्यावहार गरेको अस्पतालको गुनासो छ ।

अस्पतालका निर्देशक आरके धिमानले भनेका छन्, ‘हामीले उनलाई अस्पतालमा निकै राम्रो सेवा दिइरहेका छौँ । उनको बेड निकै उच्च स्तरिय छ । जहाँ टिभी पनि राखिएको छ । हामीले उनको सरसफाईमा पनि विशेष ध्यान दिइरहेका छौँ । पहिला उनले आफ्नै घरबाट खाना ल्याएर खाने माग गरेकी थिइन् । जुन उपचारको क्रममा सम्भव थिएन । उनको माग अनुसार नै हामीले ‘ग्लुटन फ्रि’ खानेकुरा खुवाइरहेका छौँ । किचनमा त्‍यो खाना छुट्टै बनाउछौँ । उनले यहाँ बुझ्नु पर्ने कुरा भनेको उनी यहाँ बिरामी हुन्, कोही स्टार हैनन् ।’

गायिका कनिकाले आफूलाई अस्पतालले अपराधीको जस्तै व्यवहार गरेको भन्दै आरोप लगाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्