कोरोना नेपाल भित्रिएको छैन, उपभोग्य बस्तुको मौज्दात पर्याप्त



०७ चैत २०७६, काठमाडौं

सरकारले औषधि, इन्धन, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको भण्डारण पर्याप्त मात्रामा रहेकाले ढुक्क हुन नागरिकहरुमा आग्रह गरेको छ । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सरकारद्वारा नियमित रूपमा आयोजित पत्रकार सम्मेलनमा बिहीबार भने, “औषधि, इन्धन, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त छ ।”

उनले भने, “अहिलेसम्म कोभिड–१९ बाट मुलुक मुक्त छ । नागरिक समाज जिम्मेवार भएर सुरक्षा व्यवस्था अपनाएमा कोरोना भाइरस आउनै नदिने सरकारको प्रयास सफल हुनेछ ।” कोरोना भाइरस (कोभिड–१९) मुलुकमा भित्रिन नदिने सरकारको पहिलो प्रयासस्वरूप हवाई तथा स्थलमार्गमा कडाइ गरिएकोसमेत उनले बताए । सरकारका प्रवक्ता डा. खतिवडाले कोभिड–१९ का कारण पर्यटन क्षेत्रमा असर देखिएको भन्दै ‘अफ सिजन’को समयमा छिमेकी मुलुकबाट पर्यटक भित्र्याउने रणनीति बनाउन थालिएको जानकारी पनि दिए ।

उनले भने, “पर्यटकको चाप हुने फेब्रुअरी र मार्चमा नोक्सान भएको छ । त्यसको पूर्ति अफ सिजनमा छिमेकी मुलुकबाट पर्यटक ल्याएर गर्न सकिन्छ । त्यसका लागि रणनीति बनाउन थालेका छौँ ।” उनले कोभिड–१९ को सन्त्रासबाट छिट्टै मुक्ति पाइएपछि पर्यटन व्यवसाय फेरि आफ्नै लयमा फर्कने विश्वास व्यक्त गरे । पर्यटन क्षेत्रका श्रमिकका लागि ‘वेलफेयर फन्ड’बाट तत्कालका लागि राहत दिने विषयमा छलफल भइरहेको उनले बताए । आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठको समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्