
०२ चैत २०७६, काठमाडौं
महानगरीय प्रहरी परिसर काठमाण्डौ, ललितपुर र भक्तपुर तथा मातहत समेतमा लामो समयदेखि सादा पोशाकमा कार्यरत रहेका तथा उल्लेखनिय कार्य गर्न नसकेका १७ अधिकृत ५७ जवान समेत ७४ अधिकृत तथा जवानहरूलाई तोकिएको सादा पोशाकको जिम्मेवारीबाट हटाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगंजमा पठाईएको छ ।
प्रहरीको आचरण व्यवहार सुधार गर्ने तथा प्रहरी प्रति लागेको लान्छना मेटाउने र जनविश्वास अभिवृद्धी गर्ने उद्देश्यले उक्त कार्य गरिएको छ ।

आचरण व्यवहार सुधारको हिसावले पठाईएका उल्लेखित अधिकृत तथा जवानहरूलाई महानगरीय प्रहरी शिक्षालय महाराजगंजमा ७ दिने सुधारत्मक तालिम समेत संचालन गरिने भएको छ ।
अब इन्टेलिजेन्ट ग्रुपमा कार्यरत हुने कर्मचारीहरूमा सकारात्मक आचरण व्यवहार मात्र नभएर तोकिएको जिम्मेवारी भित्र रहेर परिणाममूखी कार्यको हरेक महिना मूल्याकङ्न हुने परिपाटीको थालनी गरिने कुरा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताएका छन् ।
साथै अव सादा पोशाकमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरू मुलतः प्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य प्रकृतिका अपराध नियन्त्रण, रोकथाम र अनुसन्धानमा मात्र परिचालित हुने समेत उनले जानकारी गराए ।





