टूटल र पठाओ कानूनअनुसार चलेका छन् : सरकार



०१ चैत्र २०७६, काठमाडौं

सरकारले राइड शेयरिङका नाममा चलेका टूटल र पठाओजस्ता सेवा कानून अनुसार चलेका बताएको छ।

गत मंगलबार निजी सार्वजनिक साधनले भाडाका यात्रु बोक्न नपाउने सूचना जारी गरेको यातायात व्यवस्था विभागले बिहीबार अर्को सूचना जारी गर्दे टूटल र पठाओ कानूनअनुसार चलेको जनाएको हो।

विभागले यातायात व्यवस्थापन, रुट, भाडादर, अनुमति र नियमनको अधिकार प्रदेश सरकारमा गएको भन्दै आफूहरुले टूटल र पठाओलाई बन्द गर्न अनुमति नदिएको जनाएको छ।

वागमती प्रदेश सभाले पारित गरेको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ ले नै यातायात व्यवस्थापन र नियमन गर्ने विभागले जनाएको छ।

वागमती प्रदेश सभाले परित गरेको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ मा ‘निजी प्रयोजनको लागि दर्ता प्रमाणपत्र चार पाङ्ग्रे तथा मोटरसाइकल र स्कुटरले तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिएर यात्री बीमा गरी ओसारपसार गर्न सक्नेछन्।’ भन्ने उल्लेख भएको विभागले जनाएको छ।

यसमा नीतिगत व्यवस्थापन गर्ने दायित्व संघीय सरकारको भएकाले ऐन समय सापेक्ष बनाउन लागिएको पनि विभागले विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्