
३० फागुन २०७६, काठमाडौं
खानेपानी मन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको कामको शुक्रबार आकस्मिक निरीक्षण गरेका छन् ।
मन्त्री मगरले सुन्दरीजलमा भईरहेको मेलम्ची आयोजनाको कामबारे आकस्मिक निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा उनले आयोजनाको काममा कुनै असर आउन नदिन निर्देशन दिएका छन् । ‘सरकारले तोकेको निर्धारित समयमै पानी आउनेगरी आयोजनाको काम रफ्तारमा अघि बढाउनुस्,’ उनले निर्देशन दिदैं भनिन्,‘आयोजनाको कामप्रति म सन्तुष्ट नै छु । कहीँ कतैबाट असर नपुग्ने गरी काम सक्नुहोला ।’

मेलम्चीको पानी सिन्धुपाल्चोकस्थित अम्बाथान हुँदै सुरुङबाट काठमाडौंको सुन्दरीजलसम्म ल्याउने कार्यको प्रगति उल्लेखनीय हिसाबले भईरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिएका छन् । कार्यकारी निर्देशक खत्रीले सुन्दरीजलस्थित आयोजनाको काम तीव्र गतिले अघि बढिरहेको बताए । खत्रीका अनुसार अहिले सुन्दरीजलमा पानीको वास आउट पाईप जडान कार्य भईरहेको र ईन्भर्ट लाईनिङको काम चलिरहेको छ ।

पानी वितरण पाईप लाईनका लागि आवश्यक पर्ने सामानहरु कार्यस्थलमा आईसकेको उनले जानकारी दिए । ‘सुरुङमा लाग्ने गेट पनि साईटमा आईसकेको छ ।’ खत्रीले भने, ‘अहिले गेट जडानका लागि आवश्यक निर्माण कार्य भईरहेको छ । अब सुन्दरीजलको काम सक्न धेरै समय लाग्दैन ।’
ठेकेदार कम्पनी सिनो हाईड्रोले अहिले अम्बाथानमा हेडवर्क्स (मुख्य बाँध) को काम धमाधम गरिरहेको छ । हेडवर्क्सको काम करिब ५५ प्रतिशत सम्पन्न भईसकेको छ । हेडवर्क्सको काम भईरहँदा कपर ड्याम (अस्थायी ड्याम) बनाएर मेलम्चीको पानी सुरुङभित्र पठाउनका लागि काम अघि बढिरहेको खत्रीले बताए ।

त्यसैगरी सुरुङबाट सुन्दरीजलसम्म पानी ल्याई सकेपछि पानी प्रशोधन गर्नका लागि सुन्दरीजलमै दुई वटा प्रशोधन केन्द्र समेत बनाईएको छ । मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी मध्ये साढे ८—८ करोड लिटर क्षमताका दुईवटा प्रशोधन केन्द्र सुन्दरीजलमा बनेका छन् । मेलम्चीको पानी काठमाडौंमा वितरण गर्नुअघि सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रशोधन गरेर मात्र वितरण गरिने छ ।

सुरुङ मार्गपछि प्रशोधन केन्द्र मेलम्ची खानेपानी आयोजनाको दोस्रो मुख्य संरचना हो । उक्त केन्द्रबाट पानी प्रशोधन गरेर उपत्यकाका ६ स्थानमा निर्माण गरिएका ट्यांकीमा पानी जम्मा गरिनेछ । त्यसपछि वितरण पाइपबाट घरघरमा पानी पुर्याइनेछ ।





