गौतमबुद्ध विमानस्थल २०२१ मा सञ्चालनमा आउने



३० फागुन २०७६, काठमाडौं

कोरोना भाइरस (कोभिड–१९) का कारण गौतमबुद्ध विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको छ । भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगे पनि उपकरण जडानलगायत काममा अवरोध पुगेकाले विमानस्थल सञ्चालनमा ढिलाइ हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार विमानस्थलको भौतिक संरचनाको निर्माण करीब ८५ प्रतिशत सकिएको छ । तर, प्राविधिक कामअन्तर्गत उपकरण जडानको काम बाँकी छ ।

त्यसैले यो सञ्चालनमा आउन करीब ६ महिना लाग्ने र व्यावसायिक रूपमा सञ्चालनमा आउन झन्डै १ वर्ष लाग्ने देखिन्छ । भौतिक संरचना तयार भइसक्दा पनि कोरोनाको प्रभावले उपकरण जडानलगायत काम प्रभावित हुने भएकाले गौतमबुद्ध विमानस्थलको सञ्चालन मिति केही लम्बिने प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले बताए ।

‘भौतिक संरचनामा समस्या छैन । तर, आवश्यक उपकरण चीनबाट ल्याउनुपर्ने छ । जुन काम कारोनाको कारण ढिला हुने देखिन्छ । यसले समग्र परियोजनालाई असर गर्छ,’ उनले भने ।

विमानस्थल सञ्चालनमा आउन केही महीना ढिला भए पनि समग्र परियोजना ‘कन्ट्रोल’ भन्दा बाहिर भने नभएको उनले बताए । सबै काम सकेर विमानस्थल सञ्चालनमा आउन सन् २०२१ कुर्नुपर्नेे उनले बताए । समय लाग्न सक्छ ।’ यो समाचार आजको आर्थिक अभियान दैनिकमा टीपी भुसालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्