पाटनलाई क्रिकेट उपाधि



२८ फागुन २०७६, काठमाडौं

पाटन बहुमुखी क्याम्पसले आठौं बीएससी–सीएसआईटी कप राष्ट्रव्यापी टी– २० क्रिकेट प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।

न्यु समिट कलेजको आयोजनामा मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा पाटनले एकेडेमियालाई ७ विकेटले पराजित गर्‍यो । उपाधिसंगै पाटनले ६० हजार नगद पुरस्कार पायो । एकेडेमियाले ४० हजार नगद पुरस्कारमा चित्त बुझायो ।

टस जितेर ब्याटिङ रोजेको एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा ९८ रन बनायो । मधुसुदन खनालले २२ तथा विपिन महर्जनले १७ रन बनाए । बलिङतर्फ पाटनका निर्मल लुइटेलले ४ ओभरमा १ मैदन राख्दै ८ रन खर्चेर २ विकेट लिए । चारै ओभर गरेका रुपेश बुढाथोकीले २५ रन दिएर २ विकेट चट्काए ।

जवाफमा पाटनले १४.४ ओभरमा ३ विकेट गुमाउदै १ सय रन बनायो । हिमाल ज्ञवालीले २५ र सुनिल खड्काले नटआउट २४ रन जोडे । सुनिल ‘म्यान अफ द म्याच’ बने । बलिङतर्फ एकेडेमियाका चिन्तामणि विश्वकर्माले ३.४ ओभरमा १६ रन खर्चदै २ विकेट हात पारे । भुवन शाहीले ४ ओभरमा १ मैदनसहित १३ रन दिदै १ विकेट लिए ।

पाटनका चक्र तिमल्सिना ‘म्यान अफ द सिरिज’ घोषित भए । चक्रले ७ खेलबाट १७ विकेट लिए । ४ खेलमा १३ विकेट लिएका एकेडेमियाका चिन्तामणि विश्वकर्मा उत्कृष्ट बलर चुनिए । हिमालयन कलेज अफ इन्जिनिएरिङका किरण विष्ट उत्कृष्ट ब्याट्सम्यान ठहरिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, न्यु समिटका प्रिन्सिपल डा. शिव दत्त ज्ञवाली, न्यु समिटका निर्देशकत्रय चोकराज दबाडी, भरत गिरी र अजयप्रसाद ढकाल एकेडेमियाका प्रिन्सिपल राजेश श्रेष्ठ, केएमसी नेटवर्कका निर्देशक किशोर गौतमलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । फागुन १७ गतेदेखि सुरु प्रतियोगितामा १३ छात्र टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । नवौं संस्करण पाटनले आयोजना गर्ने भएको छ । विजेताले अर्को संस्करण आयोजना गर्ने प्रावधान अनुरुप पाटनले नवौं संस्करण आयोजना गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्