बक्सिङ टोली फर्कियो



२८ फागुन २०७६, काठमाडौं

जोर्डनको अमानमा भएको एसिया÷ओसियाना टोकियो ओलम्पिक– २०२० बक्सिङ छनोटमा सहभागी भइ नेपाली बक्सिङ टोली सोमबार राती स्वदेश फर्किएको छ ।

मार्च ३ देखि ११ तारिखसम्म भएको प्रतियोगितामा पुरुष ६३ केजीमा सनिल शाही र महिला ५७ केजीमा मिनु गुरुङले प्रतिस्पर्धा गरेका थिए । दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् ।

सनिलले १ बाउट जिते । उनले किर्गिस्तानका उन्मोनोभ बखोदुरलाई पराजित गरेका थिए । नेपाली बक्सिङको इतिहासमा कुनैपनि खेलाडीले ओलम्पिक छनोटमा हासिल गरेको यो नै पहिलो जित भएको नेपाल बक्सिङ संघले जनाएको छ । मिनुलाई भने कोरियाली खेलाडी इम अईजीले पहिलो चरणमै हराइन् । प्रशिक्षकमा बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगर र अलिशेर राखिमोभ रहेका छन् । टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

एकेडेमिया र पाटन फाइनलमा

एकेडेमिया र पाटन बहुमुखि क्याम्पस आठौं बीएससी–सीएसआईटी कप राष्ट्रव्यापी टी– २० क्रिकेट प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

न्यु समिट कलेजको आयोजनामा मुलपानीमा भइरहेको प्रतियोगितामा एकेडेमियाले भक्तपुरलाई २८ रनले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको एकेडेमियाले १९.२ ओभरमा अलआउट हुनुअघि १ सय २६ रन बनायो । ‘म्यान अफ द म्याच’ चिन्तामणि विश्वकर्माले ४० तथा भुवन शाहीले २३ रन बनाए । पूरै ओभरमा ७ विकेट क्षतिमा भक्तपुरले ९८ रन बनायो । सौरभ श्रेष्ठले नटआउट २० रन जोडे ।

अर्को सेमिफाइनलमा पाटनले अस्कललाई ४१ रनले हरायो । पाटनले १८ ओभरमा १० विकेट गुमाउदै ९३ रन जोड्यो । हिमाल ज्ञवालीले १८ तथा राजु शाहले १७ रन बटुले । अस्कल १३ ओभरमा सबै विकेट गुमाएर ५२ रनमा समेटियो । अर्पण अधिकारीले २७ तथा आशिष साउदले १३ स्कोर गरे ।

प्रतिक्रिया दिनुहोस्