सिन्धुलीको कमलामाई नगरपालिकाद्वारा ६५ महिला श्रमिक नगद सहित सम्मानित



२५ फागुन २०७६, सिन्धुली/बलवीर भुजेल

११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सिन्धुलीको कमलामाई नगरपालिकाले ६५ महिला श्रामिकहरुलाई दोसल्ला ओढाएर नगद  सहित सम्मान गरेको छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चका दिन विश्वभर र देशभर विविध कार्यक्रम गरी मनाईरहेका छन् । तर सिन्धुलीको कमलामाई नगरपालिकाले खोलाको किनारमा बसेर गिट्टी कुटेर जीवन निर्वाह गर्ने महिला श्रमिकहरुलाई दोसल्ला आढाएर नगद एक हजार रुपैंयाँ दिएर मनाएको हो ।

११० औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज बिहान कमलामाई नगरपालिका नगरप्रमुख खड्ग खत्रीले जिल्लाका संचारकर्मी सहितकको टोली लिएर सिन्धुलीमाढी भएर बग्ने ग्वाङखोला लगायत खहरे खोलामा गिट्टी बनाउन ढुङगा फोर्दै गरेका महिलाहरुलाई सम्मान गर्न दोसल्ला लिएर पुगेका थिए । ढुङगाको थुप्रोमा बसिरहेका महिला श्रमिकहरुलाई नगरप्रमुख खत्रीले एक्कासी दोसल्ला ओढाएर जनही एकहजार दिएर आज घरमा गएर आराम गर्नुस काम नर्गनुस मिठो मसिने खानु भनेको देख्दा आफु अचम्मित भएको महिला श्रमिक फुलकुमारी श्रेष्ठले बताईन् ।

फुलकुमारी मात्रै हैन बर्षौदेखि गिट्टी कुटेर नै जीवन निर्वाह गर्दै आएका  ४२ बर्षिय रत्नकुमारी मगरले पनि अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको बारेमा जानकारी नभएको तर सम्मानीत हुँदैछु भन्ने कुरा साथीहरुबाट थाहा पाएको र सम्मानित हुदाँ र खुशीे लागेको बताईन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भिडभाड र सभा सम्मेलन गरेर नमनाउनु भन्ने नेपाल सरकारको निर्देशन भएको हुनाले हामीले फरक तरिकाले गिट्टी कुट्ने महिलाहरुको सम्मान गरी नविनतम प्रयोगको रुपमा श्रामीकहरुलाई श्रम गरिएकै स्थानमा पुगेर सम्मान गरिएको नगरपालिकाका सामाजिक बिकास शाखाका बबिन्द्रलाल माझीले बताए ।

त्यसैगरी कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भनेको  तडकभडक भन्दा सामान्य रुपमा मनाउनुपर्ने बताए । आफूले गरेको कार्यक्रमबाट श्रमिक सम्मानका साथै स्वास्थ्य बिमामा छुटेका मजदुरहरुको पनि पहिचान भएको जानकारी गराए । उनले भने, ‘हामी जनप्रतिनिधी भएपछि श्रमजीवी सर्वहार बर्गको पक्षमा के गर्‍यो भन्ने कुरा आउँछ  त्यसैले हामीले मजदुर स्वास्थ्य बिमाको बारेमा कस्तो प्रभाव छ भनेर बुझ्नको लागि यस खालको कार्यक्रम गरेका हौं ।

महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका बिषय हुने गरेका छन् । सर्वप्रथम् महिला दिवस २८ फरवरी १९०९ मा मनाउन सुरु गरेको थियो भने १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको थियो ।

सिन्धुलीको कमलामाई नगरपालिकाले जस्तै अन्य नगरपालिका गाउँपालिकाहरुले पनि श्रमिक महिला दिवसको अवसरमा आएको रकम सभा समारोह गरेर खर्च गर्नुको साटो यस्तै खालका रचनात्मक काम गररेर लक्षित बर्गसम्म पुग्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्