लोकसेवा दिन आएका परीक्षार्थीको मृत्यु



२५ फागुन २०७६, धनकुटा

ताप्लेजुङ जिल्लाको मैयाखोला गाउँपालिका–४ घर भएका वर्ष २२ का सविन शेर्पाको लोकसेवाको परीक्षा दिन धनकुटा आउने क्रममा शनिबार बिहान हृदयघातका कारण मृत्यु भएको छ।

उनको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा शनिबार बिहान १० बजे मृत्यु भएको हो। शेर्पा लोकसेवाले लिने नासु तहको परीक्षा दिन शुक्रबार काठमाडौंबाट धनकुटा आएका थिए। मृतक शेर्पा शुक्रबार अपराह्न ३ बजे धनकुटाको आयुषा होटलमा आएर बास बसेका थिए।

मृतक शेर्पा शनिबार बिहान ९ बजे लोकसेवाको परीक्षा दिन निस्कने क्रममा एक्कासि बिरामी भएको उनीसँगै होटलमा बसेका पर्साका सरोजकुमार साहले बताए। साहसँग भने मृतक शेर्पाको यसअघि लोकसेवाले लिएको परीक्षा दिन इलाममा जाने क्रममा चिनजान भएको बताइएको छ। मृतक शेर्पाको शव जिल्ला अस्पताल धनकुटामा राखिएको छ। मृतकका दाजु मिङमा शेर्पाले सविन मुटुरोगी भएको र मुटुको भल्भको शल्यक्रिया गर्ने तयारी हुँदा–हुँदै घटना भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्