सरकारले भन्यो, ‘मास्क महँगोमा बेचिएको वा लुकाइएको पाइएमा ११३७ मा फोन गर्नु’



२२ फागुन २०७६, काठमाडौं

मास्क महँगोमा बेचिएको  वा लुकाएको पाइए ११३७ मा फोन गर्न सरकारले आग्रह गरेको छ।

बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न वा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जानकारी गराउन विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आग्रह गरेका हुन्।

उजुरीको आधारमा सरकारले अनुगमन गरी दोषी पाइए तीन लाख रुपैयाँसम्म जरिवाना तिराउने र मुद्दा चलाउने उनले बताए। गत मंगलबारदेखि बजारमा अनुगममा मास्क लुकाएको वा बढी मूल्यमा बेचेको पाइए कारबाही गर्न थालिएको पनि उनले बताए।

यस्तै मास्क लुकाउने काठमाडौंको क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको पनि विभागले जनाएको छ। यस्तै बिलबिना नै महँगोमा मास्क बेच्ने त्रिपुरेश्वरको स्वस्तिक सर्जिकल सप्लायर्सलाई २० हजार र सचिन ट्रेड कन्सर्नलाई १० हजार रुपैयाँ तथा त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई पाँच/पाँच हजारका दरले जरिवाना तिराएको विभागले जनाएको छ।

त्यस्तै अन्य आठ वटा फर्मलाई सचेत गराइएको पनि विभागले जनाएको छ। विभागले बिहीबार (आज) पनि बजार अनुगमन गरिरहेको छ।

यसैबीच चीन र भारतले कच्चा पदार्थ आपूर्ति नगर्ने निर्णय गरेकाले हुन सक्ने सम्भावित अभाव आपूर्ति कसरी गर्ने भन्ने बारेमा सरकारले आज सम्बन्धित निकायसँग छलफल गर्ने भएको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्