
२२ फागुन २०७६, काठमाडौं
विप्लव कार्यकर्ताले कपिलवस्तुमा ६ वटा गाडीमा आगजनी गरेका छन् ।
उनीहरुले कपिलवस्तुको हुलाकी सडक निर्माणको ठेकेदार कम्पनी शर्मा एण्ड शर्माको ६ वटा गाडीमा बुधबार मध्यरातमा आगजनी गरेका हुन्।
रोकी राखिएको २ वटा स्काभेटर, २ वटा जेसिबी र २ वटा पिकअप भ्यानमा आगजनी गरिएको हो। कपिलवस्तुको शिवराज नगरपालिका १ तुरुन्तपुरमा १ वटा स्काभेटर, विजयनगर गाउँपालिका २ लोहरौलामा २ जेसिबी र २ वटा महेन्द्रा पिकअप गाडीमा आगजनी गरिएको थियो। आगजनी भएका उक्त सामग्री हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीको रहेको प्रहरीले जनाएको छ।
हुलाकी मार्ग निर्माण प्रयोग गरिएका निर्माण साधनमाथी आगजनी भएको हो। आगलागीबाट गाडीहरु पूर्णरुपले क्षति भएको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले बताए। राति सडक बनाउन बस्ने कामदारको कोठामा बाहिरबाट चुकुल बन्द गरेर गाडीमा आगजनी गरेको प्रहरी निरीक्षक नेपालले जानकारी दिए।
घटनास्थलमा पर्चा पनि भेटिएको छ। जसमा शर्मा एण्ड शर्मा कम्पनीमाथि बिभिन्न ओरोपहरु लगाइएको छ। घटनाकोे अनुसन्धान र आगजनी गर्ने समूहको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी सुनिल मल्लले बताए।





