रोयल यु–२३ च्याम्पियन



२१ फागुन २०७६, काठमाडौं

आयोजक रोयल सेन्ट्रल स्पोर्ट्स प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेको छ ।

ललितपुरको सानागाउँस्थित घरेलु कभर्डहलमा रोयलले टाइम्सलाई ६२–५९ ले पराजित गर्‍यो । रोयलका निकेश मगरले २० अंक जोडे । निकेश नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । त्यसवापत निकेशले १० हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे ।

तेश्रो क्वाटरको समाप्तिसम्म रोयल ४२–५० ले पछाडि थियो । पछाडि परेको स्थितिलाई उल्ट्याउदै चौथो तथा अन्तिम क्वाटरमा रोयलले २०–९ को अग्रता लियो र उपाधि सुनिश्चित गर्‍यो । सुरुका तीन क्वाटरमा रोयलले क्रमशः १४–९, १६–१५ र १२–१६ को प्रदर्शन गरेको थियो । उपाधिसंगै रोयलले ५० हजार नगद पुरस्कार हात पार्‍यो ।

टाइम्सका विजेश तामाङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । बापेकका सजक केसीले उदीयमान खेलाडीको ट्रफी चुमे ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, बास्केटबलका मुख्य प्रशिक्षक दिनेशचन्द्र नकर्मीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन १२ गतेदेखि सुरु प्रतियोगितामा ९ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । रोयल स्पोर्ट्स सेन्ट्रल राष्ट्रिय बास्केटबल खेलाडीद्वय रविन खत्री र विनोद महर्जन तथा बास्केटबल प्रशिक्षक नृपेश श्रेष्ठले सञ्चालनमा ल्याएका हुन् ।

एकेडेमिया र अमृतको जित
एकेडेमिया कलेज र अमृत साइन्स क्याम्पसले आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी– २० क्रिकेट प्रतियोगितामा मंगलबार जित हात पारेका छन् । एकेडेमियाले नेपालयलाई ४० रन तथा अमृतले स्वस्तिक कलेजलाई ८ विकेटले पराजित गरे ।

पहिले ब्याटिङ गरेको एकेडेमियाले निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा १ सय २२ रन बनायो । नेपालयले पूरै २० ओभर खेल्दै ५ विकेट गुमाइ ८२ रनमा समेटियो ।

न्यु समिट कलेजको आयोजनामा मुलपानी भइरहेको प्रतियोगिताको अर्को खेलमा सुरुमा ब्याटिङ गरेको स्वस्तिकले १७ ओभरमा अलआउटहुँदै ७८ रन बनायो । बुधबार हिमालयन कलेज अफ इन्जिनिएरिङ कलेज र पाटन बहुमुखी क्याम्पस तथा सेन्ट लरेन्स र मदन भण्डारी मेमोरियल कलेजबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्