प्रधानमन्त्री ओलीसामु माधव नेपालको खुलासा : मलाई प्रधानमन्त्री बन्ने अफर आयो



२१ फागुन २०७६, काठमाडौं

गत बुधबार साँझ सचिवालय बैठक सकिएर सबै हिँडिसकेका थिए । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको निर्णयबारे जानकारी दिएलगत्तै अध्यक्षबाट फरक धारणा आयो । उता, कोटेश्वर नपुग्दै माधव नेपालको फोन बज्यो । ‘एकदमै जरुरी छ, तपाईं फर्कनुपर्ने भयो कमरेड,’ भनेपछि उनी फेरि बालुवाटार पुगे ।

प्रधानमन्त्री केपी ओलीले आग्रह गर्दै भने, ‘वामदेवलाई राष्ट्रियसभामा लैजान नसक्ने मेरा केही बाध्यता छन् । मैले युवराज खतिवडालाई दोहो-याउने भनेर वचन दिइसकेको छु, राष्ट्रपतिलाई पनि त्यो कुरा सुनाइसकेको छु । यसैमा मलाई साथ दिनुप-यो ।’

तर, माधवले मानेनन् । उनले भने, ‘तपाईंले एक डेढ घण्टाअघि मेरो बाध्यता यो छ भन्न सक्नुहुन्थ्यो । हामी पनि बुझ्छौँ नि, के समस्या हुन्छ भन्ने । जेएन, म र प्रचण्ड गरी तीन जना प्रधानमन्त्री भइसकेका मान्छे त्यहीँ थियौँ त । प्रधानमन्त्रीले पार्टी नेतृत्व, व्यक्ति–व्यक्ति र सरकारलाई सन्तुलनमा लिएर जानुपर्छ भन्ने कुरा त हिजो हामीले फेस गरेरै आएको हो नि ! त्यही परिस्थिति आज तपाईंमाथि आइपरेको हुनसक्छ । यदि त्यस्तो भनिदिनुभएको भए कतै वामदेवले नै भैगो त म जान्न भन्न सक्नुहुन्थ्यो होला ।’

प्रमले भने, ‘तर, यो निर्णय म कार्यान्वयन गर्न सक्दिनँ ।’ माधवले आश्चर्य मान्दै भने, ‘निर्णय भइसकेपछि मान्दिनँ भन्न पाइँदैन । तपाईं विश्वस्त हुनुस्, जे भए पनि सरकार तलमाथि हुँदैन ।’

‘यदि सरकार तलमाथि हुने थियो भने उहिल्यै भइसक्थ्यो । किनभने, यसबीच के कस्ता अफर आए, कता–कताबाट, कस्ता कस्ता चलखेल भए । मेरै हकमा पनि कस्ता कस्ता प्रस्ताव आए ? तपाईंलाई थाहै छ तर म कहिल्यै त्यतातिर लागिनँ । अहिले तपाईंको सरकारमाथि कतैबाट केही हुन नदिने कुराको जिम्मा हामी नै लिन्छौँ । हामीसँगै तपाईं किन आत्तिनुहुन्छ ?,’ माधवले थपे ।

यतिभन्दा पनि प्रधानमन्त्रीले उही कुरा दोरो-याए । ‘वामदेवलाई संविधान संशोधनको जिद्धिबाट पछाडि हटाएर मैले नै मध्यमार्गी बाटोमा ल्याएको हुँ । यति भएपछि उहाँ राष्ट्रियसभामा जान तयार छु भन्ने ठाउँमा पुग्नुभएको हो । अब त्यहाँ पनि रोक्न खोजियो भने मनपरी शुरु भयो भनेर बुझ्दा हुन्छ,’ त्यसपछि माधवले ओलीलाई चेतावनी दिए । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्