प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण आज



२१ फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बुधबार बिहान गर्ने गरी सम्पूर्ण तयारी पूरा गरिएको छ । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका थिए ।

शिक्षण अस्पतालका निर्देशक डा. प्रेम खड्गाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिए । युरोलोजिस्ट डा. उत्तम शर्मा, डा. प्रेम ज्ञवाली, डा. पवन चालिसे, मिर्गौला प्रत्यारोपणविद् तथा प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहलगायतको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्नेछ ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा भारतको म्याक्स अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन डा. अनन्तकुमार पनि सहभागी हुनेछन् । भारतीय चिकित्सक डा. अनन्तकुमारले नेपाल मेडिकल काउन्सिलबाट मङ्गलबार एक साताका लागि विदेशी नागरिक चिकित्सक दर्ता स्वीकृति लिइसकेको खबर आजको गोरखापत्र दैनिकमा सरोज ढुंगेलले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्