
२० फागुन २०७६, न्यूयोर्क/सुरेश चाम्लिङ्ग
‘यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका’ले हालको १ नं. प्रदेशको नाम ‘किरात प्रदेश’ राखिनुपर्नेमा माग गरेको छ।
हालै अर्गनाइजेसनको केन्द्रीय सभापति श्रीमती मुना राईको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाली महावाणिज्य दूतावास न्यूयार्कमार्फत् १ नं. प्रदेशको सभामुख र प्रदेश सांसदहरुलाई ज्ञापन पत्र हस्तान्तरण गरेको छ।
न्यूयोर्कस्थित महावाणिज्यदुत पुष्पराज भट्टराईलाई ज्ञापन पत्र प्रस्तुत गर्नुहुँदै सभापति श्रीमती मुना राईले यथाशिघ्र ज्ञापन पत्र सरकारी संयत्रमार्फत् १ नं. प्रदेश सभामा पु¥याइदिनु अनुरोध गर्नुभएको थियो।
महावाणिज्यदुत पुष्पराज भट्टराईले नेपाल सरकारको सम्बन्धित निकायमा पठाउने प्रतिवद्दता व्यक्त गर्नु भएको थियो। उक्त ज्ञापन पत्र अर्गनाइजेसनका मिडिया को–अर्डिनेटर सुरेश चाम्लिङ्गले वाचन गर्नुभएको थियो।
बोधार्थ तथा कार्यार्थ प्रधानमन्त्री केपी शर्मा ओली र १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई दिइएको छ।
उक्त प्रतिनिधिमण्डलमा अर्गनाइजेसनका संस्थापक सभापति शिवकुमार राई, पुर्व केन्द्रीय सभापति मिलन राई, न्यूयोर्क लोकल च्याप्टर सभापति केशवराम राई, कोषाध्यक्ष गणेश राई, बिओडी सुखराज राई, लोकल च्याप्टर सदस्यहरु, बिबेक राई, तारा राई तथा अग्नी साङ्गपाङ्ग राई हुनुहुन्थ्यो।
इस्तै न्यू इंग्ल्याण्ड लोकल च्याप्टर महासचिव शेखर राई र भिम राई समेत हुनुहुन्थ्यो। उक्त ज्ञापन पत्रमा यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका, अमेरिकाको कानूनअनुसार दर्ता भएर ११ वटा राज्यमा च्याप्टर भएको संस्था हो ।

यसले नेपालमा भइपरी आएको समयमा मानव सेवा लगायतका कार्यहरु गर्दै आएको छ। हाल नेपालमा संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा प्रदेशको नामाकरण हुँर्द गर्दा पुर्वमा रहेको १४ जिल्ला हालको प्रदेश नं. १ लाई किरात प्रदेश नामाकरण गरिनुपर्छ भनिएको छ।
किरात समुदायले इतिहासको कालखण्डमा आफ्नो विशिष्ठ भाषा, संस्कार, संस्कृति सभ्यतालगायतलाई स्थापित गरी राज्यलाई नै समृद्धि बनाएकोले पनि किरात प्रदेश हुनु भूगोल, इतिहास र सभ्यताको सम्मान हो भनिएको छ।
नेपालको इतिहासमा अस्तित्वमा रहेको वल्लो किरात, माझ किरात र पल्लो किरात भूगोलको एकीकृतस्वरुप नै हाल को १ नं. प्रदेश भएकोले सो प्रदेशको नामकरण ‘किरात प्रदेश’ होस् भन्ने माग गरिएको छ।
यसभन्दा अगाडि पनि नेपालका किरात राई यायोखा केन्द्रीय समितिले हस्ताक्षर संकलन गरी मुख्यमन्त्रीलाई बुझाउँदा अमेरिका बस्ने किरातहरुबाट अर्गनाइजेसनको पहलमा हस्ताक्षर संकलन गरी पठाइएको पूर्व केन्द्रीय सभापति विष्णु राईले बताउनुभयो।
उक्त ज्ञापन पत्र अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीसमक्ष वासिङ्टन डीसीमा बुझाउनुको लागि प्रयास गर्दा उहाँले बेवास्ता गरेकोले अर्गनाइजेसनले खेद व्यक्त गरेको छ।
अमेरिकामा रहेको पहिचानवादीहरु रुष्ट भएका छन्।





